ज्योति जङगल~
चुम्बनका हजार जुलुश बोकेर
हिँडिरहेको इन्टरनेटमा
कदापि मेरो चुम्बन सामेल छैन प्रियतम् !
ढुकढुकी, हदय, कलेजो वा मुटु
जून, समुद्र, पृथ्वी वा घाम
कुनै कृति उत्कृष्ट छैनन्
हाम्रो प्रेमको बिम्व हुन,
आँखा चिम्लिएरै हेर्नु छ प्रेम सचित्र
एकान्तमै यात्रा गरेर पुग्नु छ प्रेमभित्र ।
यसरी प्रेम गर्नु पनि कहाँ प्रेम, मात्र प्रेम पाउनु
यसरी विस्वास गर्नु पनि कहाँ प्रेम, मात्रै निजी बनाउँनु,
तिमी उडिरहू प्रियतम्
म झरेका प्वाँखहरू टिपी बसूँला
तिमी बगिरहू निरन्तर
म अडिएका ढुङ्गा छोई बाँचूला ।
यी उपहारका लाखौं बजारहरूमा
हाम्रो प्रेमको सौदा सामेल हुनेछैन प्रियतम् !
कसले अड्कल लगाउँछ आँखामा भरिएका प्रेमहिराका
गुलुपहरूको मूल्य ॽ
कसले नाप्छ भावनामा फरफराएका त्यागभावका फोहराको वजन ॽ
छेकिदैन सातै समुद्र बीचमा उभिएपनि सम्झनको बाटो,
लाखौं युग बाँच्ने जूनीभन्दा लामो समय बाँच्छ प्रेम ।
प्रेमको यात्रामा
प्रत्येक क्षण दिवश हुन्छ
प्रत्येक पल उत्सव हुन्छ,
हल्लामा, प्रेमको हल्लामा
हाम्रो एकशब्द पनि सामेल हुनेछैन प्रियतम् !
मुक भएर मलाई प्रेम समाल्न देऊ
मौन रहेर मलाई प्रेममा बोल्न देऊ ।
(स्रोत : Quickkhabar)