~मित्रलाल पंज्ञानी~
गाग्री छ भने घरमा तिम्रो
पानी त्यसमा भर्न सकिन्छ
घोप्टो पारी पोखी पानी
गाग्री खाली गर्न सकिन्छ।
गाग्री होइन देश कुनै
पानी होइन जनता यो
पानी फेरे जसरी कैल्यै
जनता जम्मै फेर्न सकिन्न।
यौटा मान्छे मार्न सकिन्छ
दुईटा मान्छे मार्न सकिन्छ
हजार मान्छे मार्न सकिन्छ
लाखौं मान्छे मार्न सकिन्छ
तर सब जनता मार्न सकिन्न
दिउँसै राती पार्न सकिन्न।
मन्त्रीहरु पनि फालिन सक्छन्
ऐनहरु पनि पोलिन सक्छन्
बादशाह पनि फालिन सक्छन्
जनता फालिन सक्दैनन्
जनता कहिल्यै फाल्न सकिन्न
जनता कैल्यै फालिन्नन्।
संस्कृति : अंक ५, २०६०
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २३ – २०६८ बैशाख १४ गते, बुधबार )