~जुमिरकाँढे शेशी~
कठिनाईहरुले भरिएको जीवन
त्यसमा पनि आकास खस्छ
पृथ्वी अतल गहिराइमा भासिन्छ
समाउने डालो लुछिन्छ
टेक्ने हाँगो भाँचिन्छ
अब के रह्यो र जिन्दगी
दिउँसै निस्पट्ट कालो रात परेको छ
आँशुको नदी बगेको छ
हिड्ने यात्रामा भीरै भीर छ
बेचैन हृदयमा पीरै पीर छ
यहीबेला
मलाई रोक्न भनेर
गोमन सर्पहरुले टाउको उठाएका छन्
मलाई कोपर्न भनेर
भालुहरुले नंग्रा उठाएका छन्
मलाई गिज्याउन
बाँदरहरुले समेत घेरा हालेका छन्
तर विडम्बना !
यस्तो विभत्स जीन्दगी
बाजहरुसित पो खेल्छ
बाघहरुसित रमाउँछ
सिंहको जुंगा समाउन डराउँदैन
दुस्साहस नगर गोमन !
तिमीले मलाई टोक्न सक्दैनौं
रहर नगर भालु !
तिमीले मलाई कोपर्न सक्दैनौं
बाँदरको त के कुरा !
भक्तपुर २०६७ कार्तिक १७
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २ – २०६७ मंसिर ८ गते, बुधबार)