कविता : उद्घोष विद्रोहको

~मानबहादुर भण्डारी~

बोधगम्य छ यो संसार,
गम्नलाई मस्तिष्क यहाँ खियाउँनै पर्दछ
दृष्टिभ्रम पालेर हुँदैन
उज्यालो पाउन चिहाउनै पर्दछ।

यहाँ बुझाई आ–आफ्नै भएतापनि
भेद खुट्टाउन नसकी अल्मलिनुको पीडा अनेक
जलन अनेक, अनि पृथक बुझाई, पृथक भोगाई अनेक
आत्मघात, विश्वासघात, घातप्रतिघात
स्नेह, प्रित, माया भनौं आपसमा साटासाट
कोही आफै लुटिंदा पनि सन्तुष्ट हुन्छन्
कोही अरूलाई लुट्दा पुरूषार्थ ठान्छन्

यहाँ रित बेग्लै यहाँ पिं्रत बेग्लै
आफ्नै कर्म बेग्लै यहाँ धर्म बेग्लै
यहाँ आफूलाई कमारो ठान्नेहरू
ढुंगोलाई पुजनीय देवता मान्नेहरू
सत्य छाडि असत्य छान्नेहरू
निर्बललाई रोजी हान्नेहरू
आफ्नै संसारमा रमाईरहेका छन्

जीवनको परिभाषा पनि बढो विचित्र
मरीमरी काम गर्नेहरू भोकै बस्नु
नांगो जिउमा कठ्यांग्रीनु पनि
कर्मको खेल भन्ने विचारमा कैद बन्छ
जसले ठग्दछ, अन्याय गर्दछ
भ्रष्टाचार गर्दछ, अनैतिकताको जगमा
धनदौलत, शासन र मान जन्माउँछ
आज उ नै मालिक बन्दछ
धर्मी कहलाउँछ र अन्तत
भाग्यमानीको घुम्टो ओढी सजिन्छ
कतै समाजसेवीको नाउँमा
कतै उच्च राजनैतिक नेताको भेषमा
परिश्रमी हातले पसिनाको भेलले
सिर्जना गरिएका बस्तुहरूमा
मजदुरको नाम लेखिंदैन, उसको स्वाभिमान देखिंदैन
केवल लेखिन्छन् तिनै श्रम शोषक मालिकका नामहरू
केवल देखिन्छन् तिनै लुटेरा बैरीका कामहरू
तर पनि एक्काइसौं शताब्दीको विश्लेषण
तिनै शोषक फटाहाले गर्दछन्
नैतिकताका महंगा कुरा हुन्छन्
तिनै अनैतिक बैरीका मुखबाट
सालिनताका उच्च कुरा हुन्छन्
तिनै व्यभीचारी बलात्कारीबाट
अनि कसरी म पत्याउँ?
एक्काइसौं शताब्दीको उन्नत चेतना भनेर
मेरो बास उठेको छ, भाई भतिजाको लास उठेको छ
दिदी बहिनीको अस्मिता लुटिएको छ
म कसरी विश्लेषण गरु तिनीहरू महान् हुन् भनि
मनभरी घृणाको आँधी उर्लेको छ
तनभरी बदलाको भाव छ।
म आफ्नै परिश्रमले बाँचेको मान्छे,
म आफ्नो स्वाभिमानमा नझुकेको मान्छे
म आफ्नो कर्तव्यलाई नभुलेको मान्छे
म अरूमाथि अन्याय नगरेको मान्छे
म बैरीबाट सताइएको मान्छे
म शोषकबाट ठगिएको मान्छे
मेरो भविष्यलाई बन्दक बनाउनेका विरूद्ध
मेरो खुन पसिना चुस्नेका विरूद्ध
मलाई कमारो सम्झी हुकुम चलाउनेका विरूद्ध
अब म ठगिएका, लुटिएका, पीडित भएकाहरू बीच
संगठन बनाउन चाहान्छु
विद्रोह गर्न चाहन्छु, अब लड्न चाहन्छु
काला कानुन–त्यात्न चाहनु
यति गर्दा मर्नु परे मर्न चाहन्छु
किनकि अब धैर्यताको बाँध टुटी सक्यो
पसिनाको मूल अब सुकिसक्यो।
नैतिकता यहाँ अब मरी सक्यो
कोपिला फूल्न नपाउँदै झरी सक्यो
अब म त्यसो हुन दिन्न यहाँ
हिसाब गर्नुछ, वही खाता पल्टाउनु छ
नयाँ संसार बसाउनु छ, पुरानो रित उल्टाउनु छ
नव युगको नयाँ चेतना स्थापित गर्नुछ
पुरानो युगको पुरानो सोच विस्तापित गर्नुछ।

(२०६७ असार ३० गते, किर्तिपुर)

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३९ – २०६७ भाद्र ०२ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.