कविता : म तिम्रो बन्न चाहन्छु

~राधा मल्ल~

निलो आकाशको त्यो गहिराइमा,
निस्कपट तिम्रो नयनको सागरमा,
म डुबुल्की मार्न मार्न चाहन्छु।
एक पटक अनुमति दीइ हेर तिमी,
म अझ पवित्र बन्न चाहन्छु।

बिहानिको त्यो चिसो बतासलाई सोध,
साँझको यो मिठो गोधुलीलाई सोध,
म सधैं सधैं तिम्रो आगमनमा,
यि नयन हामी हिंड्ने बाटोभरी बिछ्याइरहेछु।
साँझ बिहानसंगै चिसो मिठो पवन बनेर आउ तिमी,
म हरबखत हत्केलाले आँख छोपी तिमीलाई चिहाइरहेछु।…

अटल हिमालको त्यो निस्छल छातीमा,
अप्ठ्यारोलाग्दो तिम्रो त्यो मौन हेराईमा,
म हराउन हराउन चाहन्छु।
एक पटक अपनाइ हेर तिमी,
म अझ पवित्र बन्न चाहन्छु।

डाँडा पाखाका ति बोट हरुलाई सोध,
भञ्ज्याङका यी चौतारीहरुलाई सोध,
म त्यसै त्यसै तिम्रो प्रतिक्षामा,
यि नयन हामी हिंड्ने बाटोभरी बिछ्याइरहेछु।
साँझ बिहानसंगै चिसो मिठो पवन बनेर आउ तिमी,
म हरबखत हत्केलाले आँख छोपी तिमीलाई चिहाइरहेछु।

साँझको त्यो जुनेली रातमा,
सपनाले भरिएको यो मिठो बातमा,
म लठ्ठिन लठ्ठिन चाहन्छु।
एक पटक आग्रह गरी हेर तिमी,
म सदा सदा तिम्रो बन्न चाहन्छु।

पतझडका ति मौसमहरुलाई सोध,
बर्षातका यि झरिहरुलाई सोध,
म सधैं तिम्रो तलासमा,
यि नयन हामी हिंड्ने बाटोभरी बिछ्याइरहेछु।
साँझ बिहानसंगै चिसो मिठो पवन बनेर आउ तिमी,
म हरबखत हत्केलाले आँख छोपी तिमीलाई चिहाइरहेछु।

(स्रोत : INLS – australia)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.