~रुपेश राई~
इन्फेचुएसन जस्तै
ईश्वर तिम्रो कथा। प्रेमको।
रिमिक्स छ कथा। पात्रहरूले भोग्न परेको।
मान्छेको आस्था। तिमी वेपर्वाह छौ।
तिम्रो नाटक। विपरित लिङ्गमा।
प्रयोजनीय छ।
कार्यकलाप पनि।
कथानक होला अलिक फेरबदल।
प्रश्न उठ्छ।
शिवलिङ्गमा अङ्गालिएकी युवती,
निउसले बिहानै बजारमा फ्लास गर्दा।
कफी पिउँदै हस्बेन्ड- ‘सि डार्लिङ वाट्स दिस!’
प्याच्च बजारी हाल्छ संकुचित विचार पनि!
पाप नलागोस्।
पत्नीले ईश्वरलाई ठट्टा गऱ्यो।
ईश्वर तिम्रो लिङ्ग छैन? अन्जान छु म!
सधैं ठोकी रहन्छु आफ्नै मस्तिष्क प्रश्नले।
अरे मलाई म भएर जिउन देऊ।
म जसरी चाहन्छु त्यसरी
जिउन देऊ।
तिम्रो कथामा म किन अल्झिरहनु।
मलाई मेरै कथा लेख्नु छ।
कुनै एउटा गाउँमा।
मेरो जन्म हुनु हरे।
कुनै अर्को गाउँमा जानु हरे।
कसैको घरमा बस्नु हरे।
उसैकी चोरीसँग प्रेम पर्नु हरे।
आमाबाबाले चाल नपाउनु हरे।
काका, बहिनी, भाईले मात्र थाहा पाउनु हरे।
उसकी मामाकी छोरीले भिलेन रोल गर्नु हरे।
साथीहरूले चाक्लुसी गर्नु हरे।
समझाउँदा नसम्झनु हरे।
अनि छ महिना नपुग्दै उसको र मेरो प्रेम तोडिनु हरे।
कस्तो पग्ला कथाकार।
मैले धेरै चिट्ठी लेखेर पठाउनु हरे।
उसले एउटै पनि उत्तर नदिनु हरे।
कुनै दिन बाटोमा भेट्दा बोल्नु नसक्नु हरे।
अनि पछि आफैलाई गाली गर्नु हरे।
अनि फेरि दोस्रो प्रेम पर्दा उसलाई सबै भन्नु हरे।
मेरो यो दोस्रो हो। पहिलेको कारण नबुझी तोडियो।
ए… मेरो प्रथम, उसले पनि भन्नु हरे।
बितेका कुरा छोडिदेऊ।
कति राम्रो संरचना।
ईश्वरको कथा।