~बिष्णु सुवेदी ‘दोलखे’~
कुनै नयाँ शताब्दीको एक साँझ
अनायास जानेछ एउटा डरलाग्दो भूकम्प !
र उँभो– उँभो पहाडतिर बग्न थाल्नेछन् नदीहरू !
रङ्गहरूले सिंगारिएर बनेका
मालिकका गुँडहरू भग्नावशेष लडिरहेछन्
यत्रतत्र !
आबाजहरूको कोलाहलमा चित्कारहरू
निस्कनेछ अर्को नयाँ सामवेद लयमा !
सम्भवतः त्यस बखत
घुम्नेछ पृथ्वी फनफनी घट्ट जस्तै
देख्न सक्नेछन्् जीवित आँखाहरूले
आकाशबाट पहिरो खसेर बस्ती पुर्दै गरेको !
फूलहरू डढेर खरानी हुनेछन्
र मासुको गन्धसँग मिसिएर
फैलनेछ अर्को नयाँ बासना !
कुनै नयाँ शताब्दीको एक बिहान
अनायास मर्नेछ तातो सूर्य आकाशमै !
र कहिल्यै ओर्लने छैन उज्यालो
पोखरीमा नुहाउन !
हरियो रङ्ग जलेर पहेंलो बन्नेछ
आमाका काखहरूमा बच्चाको सट्टा
खेल्नेछ कुनै प्राचीन आगो !
मनहरू सुकेर आगो पिउनेछन्
र बालुवा पेलेर दल्नेछन्
आफ्नै कुरूप अनुहारको सौन्दर्यमा !
सम्भवतः
कुनै नयाँ शताव्दीको नयाँ साँझ
वा, कुनै नयाँ शताब्दीको नयाँ बिहान
सम्भवत दुबै नहुन सक्छ
ठीक हुनसक्छ अर्को समय अनुमान
कुनै नयाँ शताब्दीको नयाँ मध्यान्ह !
एउटा ठूलो बिष्फोटको आबाज पड्केर
विज्ञानले आत्माहत्या गर्नेछ त्यतिवेला
औषधीहरू एसिड हुनेछन्
हिमालहरू भासिएर टाउकामा हिउँ पगाल्नेछन्
रूखहरू जलेर मुर्कुट्टा बन्नेछन् !
माछाहरू पोखरीबाट निस्केर
दौडनेछन् बालुवाको बाटो हुँदै !
देवताहरू त्राहीत्राही जप्नेछन्
जून पग्लनेछ, आकाश खस्नेछ
ढुङ्गाहरू बोल्नेछन् त्यसबखत
मान्छेहरूको इतिहास जलिरहनेछ
महासागरको बाँकी पानीमा !
त्यस भूकम्प वा आँधीबेहरीले
सबै बनाउने छ प्राचीन÷पुरातात्विक
रहने छैन अस्तित्वमा त्यसबखत
समय बाहेक अरू वस्तु !
र पनि, पृथ्वीको कुनै कुनामा उभिएर
भनिरहनेछ कुनै चतुर नेता
देख्नु भो मेरो नीति ?
यसपटक पनि भोट मलाई दिनुस् !
भनिरहनेछ एक्लो मतदाता नामावली पत्र बोकेर
कुनै नयाँ शताब्दीको समयमा
नयाँ अनुहार देखाएर गरिरहनेछ घोषणा
आफू देवता भएको,
आफू सम्राट भएको !
राम्पा, दोलखा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)