~ईश्वरी कार्की वर्षा~
आँ आँ गर्दै
पहिलो पटक
मैले सिकेको शब्द हो
आमा
मैले गरेको
पहिलो स्पर्ष
आमालाई हो ।
याद छ मलाई
आफ्नो भाग्को भन्दा
आमाको भागको
मीठो लाग्थ्यो ।
मेलापातबाट थाकेर
घर पस्दा
म सताउँथे
घुर्काउँथे
आमालाई
उहाँ मेरो घुर्कीदेखि रमाउनु हुन्थ्यो
र सारा
थकान बिर्सिएर
मलाई काखमा राखी
सुम्सुमाउनु हुन्थ्यो
काखैमा निदाउँथे म ।
बोकेर
मनभरि पीडाको पहाड
अभावको कालो
बादलसङ्ग कुस्ती खेली
मलाई हसाउनुहुन्थ्यो
मेरो खुसी नै आमाको
जीवन थियो ।
बुझ्दिन थिएँ म भुरी
आमाका घुम्तीजस्ता
दु:खहरु
वस
पेटभरि खान पाए
काखमा लुटुक्क
निदाउन पाए
पुग्थ्यो मलाई ।
म बच्ची
छैन अब
हिजोजस्तो
आमालाई सताउनु हुन्न भन्थे
बुझछु र पनि सताउछु ।
आमाका थकान र
पीडाहरुदेखि
म आफै पनि
दु:खी हुन्छु
तर
मलाई मेरी आमा
अझै पनि
बच्ची नै देखनु हुन्छ
फुच्ची नै देखनु हुन्छ
अहिले पनि
मेरो भोक्कै
चिन्ता छ
मेरो सुरक्षाकै
चिन्ता छ उहाँलाई ।
मेरो सफलतामा
मभन्दा बढी खुसी हुनुहुन्छ
मेरो असफलतामा
मभन्दा बढी दु:खी हुनुहुन्छ ।
सबथोक हेर्न सक्छु
म
सक्दिन हेर्न
आमाका आँखामा
आँसु ।
मेरो भगवान नै
मेरी आमा हुन
आमा
नभएकी भए
मैले कसलाई
भगवान मान्थी -कुन्नि ?
(स्रोत : मधुपर्क )