~विक्रम सुब्बा~
तिमीलाई पहिलोचोटि देखेपछि
मेरा हराएका घाम जून भेटेजस्तो लाग्यो
तर तिमीले भन्यौ
यी त मेरा आँखा हुन्
मेरो सपना पनि हराएको थियो
हेर्दै लाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो
तर फेरि तिमीले भन्यौ
यो त मेरो शरीर हो
मेरो आफ्नो फैलावट हो
मेरो संगीत हराएको थियो
अचानक एकदिन
तिम्रो ढुकढुकीमा भेटेजस्तो लाग्यो
तर तिमीले प्रमाणसहित भन्यौ
यो त मेरो हृदय बोलेको हो
त्यसैगरी
मेरो खुशी पनि हराएको थियो
हेर्दै जाँदा त्यो पनि
तिम्रा ओँठहरूमा अल्झिएको पाएँ
तर फेरि तिमीले भन्यौ
यो त मे रो मुस्कान हो
अब म के भनौँ
अब म के सोचौँ
तिमी मेरो अमुल्य सम्पतिको थुप्रो हौ ?
कि मेरो सानो देशको मेरो सानो झुप्रो हौ ?
भन!! भन!!!
तिमी को हौ ?
तिमी के हौ ?