~विप्लव ढकाल~
हाम्रो घर एउटै छ !
यो घरको सुनको छानो एउटै छ
हरियो आँगन एउटै छ, रङ्गीन फूलबारी एउटै छ
तर बाबा र मामुले हेर्ने ऐनाहरु छुट्टै छन् !
बाबा र मामु सुत्ने ओछ्यानहरु छुट्टै छन् !
…….
हाम्रो घरभित्र पस्ने बाटो पनि एउटै छ !
त्यही बाटोमा हिँड्दै
अफिसबाट आएर बाबा घरभित्र पस्दा
मामु सधैँ घरबाहिर निस्किनुहुन्छ !
मामुले भ¥याङ उक्लिँदै गर्दा
बाबा त्यही भ¥याङका सिँढीहरु ओर्लिनुहुन्छ !
…….
‘अब यो पुतली नखेल छोरी,
योभन्दा राम्रो पुतली त म किनिदिन्छु’
भन्नुहुन्छ मामु !
‘अब यो नाना नलगाऊ नानू,
योभन्दा सुन्दर नाना त म किनिदिन्छु’
भन्नुहुन्छ बाबा !!
…….
‘तिम्री मामु— मामु होइन,
ऊ त रगत खाने किचकन्नी हो
ऊसँग कहिल्यै नबोल्नू’ भन्नुहुन्छ बाबा !
‘तिम्रो बाबा— बाबा नै होइन,
ऊ त मान्छे खाने सैतान हो
ऊसँग कतै पनि नहिँड्नू’ भन्नुहुन्छ मामु !
…….
तर मलाई मेरी मामु— मामु जस्तै लाग्छ !
मलाई मेरो बाबा पनि— बाबा जस्तै लाग्छ !
मलाई उहाँहरु दुवै जनाको उत्तिकै माया लाग्छ
त्यसैले म यो भया¥ङको बीचमा
सधैँ एक्लै उभिइरहन्छु !
कि यही ढोकाको सँघारमा बसेर
पुतलीको आँखामा हेरिरहन्छु !
…….
हाम्रो घरभित्र एउटा घर छ !
यो घरमा— मामुले किनेका पुतलीका नानाहरु
एउटा अँध्यारो कुनामा फालिएका छन् !
यो घरमा— बाबाले किनिदिएका पुतलीहरु
अर्को अँध्यारो कुनामा लुकेर रोइरहेका छन् !
म पनि त पुतलीको आँखामा हेर्दै
एक्लै एक्लै रोइरहेकी छु !
…….
हामीले रोएको आँसुको दहमा
घरको छाया नै उल्टो छ निरा !
हिमालको शिर नै उल्टो छ,
आकाशको पैताला उल्टो छ !
के बाबाले किनिदिएको पुतलीलाई
मामुले किनिदिएको नाना लगाइदिन मिल्दैन ?
…….
(२०७२ असार ७ गते)
(स्रोत : EGkabita)