~आश्रय रवि~
ए पाक्मा
कति घुर्क्याउँछौ
कति रिसाउँछौ…
यो ताङ्साङसँग
सबै छुट छ तिमीलाई
पोखिन्छु झरी बनेर
अनि भिजाउँछु तिमीलाई।
तिम्रै लागि भनी
जून तारा
हाम्रै लागि भनी
सपना
हजारौं बोकेर
हिडिरहे उकाली ओराली
चढिरहे जीवनका खुट्किलाहरु
सपनाको आधार शिविरमा
पुगौँला भनेर।।।
अचानक देउरालीमा
तिमीलाई भेटे
बादलले ढाकेको मनपनि
जब घमाईलो भयो
परिचय भयो
विस्तारै प्रेमको वृक्ष झाङ्गियो
अनि सुरुवात भो
जीवनको दोस्रो अध्याय।।।
चल्दै गयो जिन्दगी
समयको कम्पासमा
तौलिदै ल्यायो समयले
जिन्दगीको तराजुमा
कहिले तल कहिले माथी
बोकेकै थिए कर्तव्य
थामेकै थिए पुर्खाको विरासत
तर,
कसरी?
ए पाक्मा
अचानक तिमीले नै
दु:खै-दु:खले
कुचिएको निधारमा
युप्पालुङले हानेर जाँदा
अलिकति दबिएछ
विभेदले थिचिएको नाक।
शब्दको अर्थ लिम्बू भाषामा
पाक्मा:-कान्छी
ताङ्साङ:-आकाश
युप्पालुङ:- विवाह लगनमा फेदाङबाले(लिम्बू पुरोहित) तुम्याङहरूको(भलाद्मी ) रोहबरमा बेहुलाले बेहुलीको मजेत्रोमा सत्यवाचा गराएर ढुङ्गा (लुङयाङ) बाँधिदिन्थे। ढुङ्गाको सट्टा चाँदीको सिक्का बाँध्न थालेपछि युप्पालुङ भनिन थालियो। बाँधिएको उक्त ढुङ्गासँग फेदाङबाले यस्तो सत्य वाचा बाँधिदिन्थे– ‘यदि श्रीमतीले लोग्नेसँग घरजम गरिखान नसकेमा श्रीमतीले लोग्नेलाई उक्त युप्पालुङले लोग्नेको निधारमा हानेर गएमा श्रीमतीले लोग्ने छाडेर गएको ठहरिनेछ।’
(स्रोत : Egkabita)