~नयनराज पाण्डे~
‘ए आशा ! कहाँ छ्यौ अचेल तिमी ? के तिमीले अझै ओठमा लाली लगाउँछ्यौ ? अझै गाजल लगाउने गरेकी छ्यौ आफ्ना ठूलठूला आँखामा ? रातो धागोले दुई चुल्ठो बाट्छ्यौ अझै पनि ? तिम्रो केशबाट के अझै आउँछ चमेली तेलको बास्ना ? पाउमा पाउजू लगाउँछ्यौ अझै पनि या नियतिको निर्दयी जंजिरले बेरिएकी छ्यौ अचेल ?’
अहँ, जवाफ कतैबाट आउँदैन । आउँछ त बस् एउटा अग्लो लहर, एउटा चिसो छाल र एउटा सुकिलो बास्ना । आशासित जोडिएका सम्झनाहरूको लहर, उसैको सम्झनाको चिसो छाल र उसकै शरीरबाट निस्कने मादक बास्ना ।
सम्झना न हुन् । कहिले बास्ना आउने मालाजस्तो बन्छन् र सर्लक्क मनभरि बेर्न मन लाग्छ । सम्झना न हुन्, कहिले बलियो जन्जिर भइदिन्छन् र त्यही मनलाई दुख्ने गरी बेरिदिन्छन् । हामी लेख्नेहरूका लागि सम्झना त खजाना हुन्, कहिले छापावाल सुन भएर टलक्क टल्कन्छन्, कहिले भने चानचुन भएर मनको खल्तीभरिबाट पालैपालो चुहिन्छन् । तर, जति चुहिए पनि सम्झना रित्तिएको उदाहरण छैन । सम्झना अजंगका हिमाल रहेछन्, जति उक्लियो, उति अग्लिँदै जाने । सम्झना, समुद्र रहेछ, जति गाग्री पानी उग्याए पनि कहिल्यै नरित्तिने । सम्झना बतास पनि त रहेछ, जसले जति तानेर आफ्नो फोक्सोमा भरे पनि कहिल्यै नसकिने ।
०००
आशा, टाँगावाल रामलालकी छोरी थिई । मेरै उमेरकी । गोरी, पातली र हँसिली । रामलालका बारेमा मैले पहिला पनि कतै लेखिसकेको छु । मेरो नेपालगन्ज, सुर्खेतरोडस्थित घरको ठीक विपरीत माटोको दुईकोठे घर थियो । त्यो टाँगावाल रामलालको घर थियो । मैले मेरो उपन्यास उलारमा प्रेमलालको घरको चित्रण गर्दा त्यही घर र त्यसैको परिवेशलाई सम्झिएको हुँ ।
त्यही घरभित्रका डिटेलिंगलाई उपन्यासमा सामिल गरेको हुँ । आशा त्यही घरमा आमाबुबा र सानो भाइसित बस्थी । म ६/७ कक्षामा पढ्दाताका उसको घरमा आउजाउ गर्न थालेको हुँ । ११/१२ वर्षको उमेर त हुँदो हो उसको पनि तर ऊ त्यतिबेला पनि ओठमा सस्तो खालको लिपिस्टिक लगाएर बस्थी । आँखामा गाजल पनि लगाउँथी । बास्नादार चमेली तेलले चम्किलो बनाएको कपाललाई टिनिक्क पारेर रातो धागोले बेर्थी । फ्रक लगाउँथी ऊ । उसलाई सम्झँदा म जैले पनि रातै फ्रकमा सम्झिन्छु ।
छातीमा हल्का क्वाँटी उम्रन लागेका थिए । खुट्टामा पाउजू पनि लगाउँथी । ती चाँदीका पाउजू थिए या गिल्टीका, थाहा छैन । तर, उसको मेहन्दी लगाएको खुट्टामा ती पाउजूहरू गजबले सुहाउँथे ।
आशा र म जब कहिलेकाहीँ धूलोमा सँगै खेल्थ्यौँ, उसले बेसर्माको डाँठले भुइँमा पानको पात र तीरको चिह्न बनाउँथी र अवधी भाषामा भन्थी, “यो प्यार–मोहब्बतको निसानी हो ।”
सायद जीवनमा पहिलोपल्ट मैले त्यो निसानी देखेको थिएँ । धूलोमा बनाएको एउटा अर्थ न बर्थको आकृति कसरी प्यार–मोहब्बतको निसानी हुन सक्छ ? तर, यसको जवाफ त आशासित पनि थिएन । सायद, मैले यसबारेमा ऊसित कुनै प्रश्न पनि गरेको थिइनँ ।
आशा स्कुल जान्नथी । उसका अभिभावकहरूसित उसलाई स्कुल पठाउने ल्याकत थिएन । त्यसबाहेक ऊ त्यो समाजकी पात्र थिई, जहाँ बालिकालाई स्कुल पठाउने कुरामा खासै उत्साह थिएन । ऊ मैले बोल्ने भाषा बोल्न जान्दिनथी । हामीबीच अवधी भाषामै संवाद हुन्थ्यो । तर, ऊ बोल्दा केही अंग्रेजी शब्द भने मिसाउँथी ।
“मेरो बप्पा डेली टाँगा लिएर रूपैडिहा र नेपालगन्ज अपेनडाउन गर्छ ।”
“मेरी अम्मा मार्किट गएकी छ ।”
ऊसित मलाई देखाउनका लागि अचम्मअचम्मका बस्तुुहरू हुन्थे । एकपल्ट उसले मलाई इण्डियाको रेलको टिकट देखाई । बाक्लो दफ्ती कागजको एक इन्च बाइ अढाइ इन्चको टुक्राजस्तो । त्यसमा केही नम्बरहरू हुन्थे । टिकट किनेको र पुग्ने स्टेसनको नाम हुन्थ्यो । उसले बडो जतनका साथ त्यो टिकट राखेकी थिई ।
मैले सोधेँ, “किन राखेको यो टिकट ?”
“अब जब मेरी अम्माले फेरि बच्चा पाउँछे नि, त्यो बेला यसको बुटी बनाएर अम्माको पेटमा बाँधिदिने । अनि, बच्चा फटाक से पैदा भैहाल्छ ।”
उसको यस्तो जवाफले म चकित भएको थिएँ । के एउटा ट्रेनको टिकटले आमाको पेटबाट धरतीमा आउन लागेको एउटा बालक या बालिकाको यात्रालाई पनि सहज बनाइदिन्छ ? आज पनि यो प्रश्न कहिलेकाहीँ मेरो मथिंगलमा सल्बलाउँछ । प्रश्नको जवाफ दिन आशा अब कहाँ छे र ?
मलाई केही अंग्रेजी वाक्यहरू कण्ठ थिए । म ती वाक्यहरू उसलाई सुनाउँथेँ ।
“माइ नेम इज राजु ।”
ऊ सोध्थी, “के भनेको ?”
म भन्थेँ, “मेरो नाम राजु हो ।” अनि, फेरि भन्थेँ, “आइ रिड इन क्लास सिक्स ।”
ऊ फेरि सोध्थी, “के भनेको ?”
म गमक्क परेर जवाफ दिन्थेँ, “म कक्षा ६ मा पढ्छु ।”
ऊ जिल्ल पर्थी । अनि, मार्केटबाट किनमेल गरेर आएकी अम्माको धोतीको फेर समातेर भन्थी, “अम्मा, म पनि स्कुल जान्छु ।”
आशाकी आमाले त्यस्तो बेलामा के जवाफ दिन्थी, थाहा छैन । तर, थाहा छ, आशा त्यसपछि निराश हुन्थी । कहिलेकाहीँ रुन्थी पनि ।
एक दिन स्कुलबाट भागेर कुनै हिन्दी सिनेमा हेरेको थिएँ मैले । त्यसमा नायकले नायिकालाई ‘आई लभ यु’ भनेको र त्यसपछि नायिकाले उसलाई बेस्मारी अँगालो मारेको दृश्य थियो । मेरा लागि त्यो सिनेमाभरिको सबैभन्दा उत्तेजक दृश्य थियो । त्यसरी अँगालेपछि अब नायिका गर्भिणी भइहाल्छे र चाँडै बच्चा पनि जन्मिन्छ भन्ने विश्वास भयो मलाई । अंकमाल गर्नु नै प्रेम र यौनको उत्कर्ष हो भन्ने लाग्थ्यो त्यतिबेला । मलाई किन किन आई लभ यु शब्दले खुब आकर्षित गरेको थियो । पहिलोपल्ट त सुनेको थिइनँ । तर, पहिलोपल्ट याद भने भएको थियो । पहिलोपल्ट त्यसको मादक अर्थ स्पष्ट भएर आएको थियो ।
सिनेमा हेरेर आएको राती पनि मैले त्यही दृश्य सम्झिएँ । तर, यसपटक नायक–नायिकाको ठाउँमा मैले आशा र आफूलाई राखेँ । मैले आशालाई आई लभ यु भनेँ र उसले हतारहतार मलाई अँगालो मारी । कल्पनामै आशाले भुँडी बोकी । बच्चा पाई । कल्पनामै उसले काखमा राखेर बच्चा खेलाई र आशा र बच्चालाई पाल्न म हवाईजहाज उडाउने पाइलट भएँ । कल्पनामा आशा र मेरो सुन्दर गृहस्थी तयार भयो । यस्तो कल्पनाले मेरो शरीरमा कताकता हलचलचाहिँ हुन्थ्यो । ज्वरो आएजस्तो निधार तातो हुन्थ्यो ।
कहिलेकाहीँ खेल्दाखेल्दै मलाई सु आउँथ्यो । म आशाकै छेउमा उसको घरको भित्ताको आडमा उभिएर सु गरिदिन्थेँ । कहिलेकाहीँ उसलाई पनि सु आउँथ्यो । ऊ मेरै छेउमा टुसुक्क भित्तानेरै बसेर सु गरिदिन्थी । हरेक दिनजसो घट्ने यस्ता दृश्यले मलाई कैले पनि ज्वरो आएन । ज्वरो आयो त सिनेमामा देखेको अंकमालको दृश्यले र आई लभ युभित्र निहित मादक अर्थले ।
एकदिन सु गर्दागर्दै मैले आशासित भनँे, “आशा, आई लब्यु ।”
उसले इँजार बाँध्दै सोधी, “के भनेको ?”
तर, त्यतिबेला मलाई त्यसको ठीकठीक अनुवाद आएन । म अलमलिएँ । जवाफ दिन सकिनँ । आज सम्झँदा मलाई लाग्छ, म त्यो वाक्यको अनुवाद गरेर ‘म तिमीलाई प्यार गर्छु’ अवश्य भन्न सक्थेँ । तर, भन्ने हिम्मत भएन त्यतिबेला मलाई ।
तर, म अब आशासितको प्रेममा फसिसकेको थिएँ । स्कुलबाट फर्किनासाथ बस्ता फ्यालेर दौडँदै आशाको घरमा पुगिहाल्थेँ । आशा प्राय: घरमै भेटिन्थी । ऊ जतिबेलै पनि चिटिक्क परेर बसेकी हुन्थी । उसको फेरफार गर्ने धेरै लुगा थिएन । तर, उसका लुगाहरू कहिल्यै पनि मैलो देखिनँ मैले ।
आज पनि जब म आशालाई सम्झिन्छु, उसको सुकिलो छवि मेरो दिमागमा उज्यालो भएर आउँछ । उसको नाकको फुली टलक्क टल्कन्छ अझै पनि । उसको पाउजूको मधुरो आवाज गुन्जन्छ आज पनि । उसको ओठको लालीले मेरो मनलाई रंगीन बनाउँछ अचेल पनि । उसको सफा र गोरो मुहार पोस्टर भएर टाँस्सिन्छ अझै पनि मेरो मनको भित्तामा ।
नेपालगन्जमा प्राय: मुसलमानहरूले टाँगा चलाउँथे । तर, रामलाल हिन्दु थियो । एकदम दुब्लोपातलो थियो ऊ । वर्णमालाको ‘त’ झैँ निहुरिएर हिँड्थ्यो । उसलाई हाँसेको र खुसी भएको मैले कहिल्यै पनि देखेको थिइनँ । उसको जीवनको अभाव र संघर्षले उसलाई खुसी हुने मौका दिँदैनथ्यो । आत्मविश्वास नभएर होला ऊ भकभकाएर बोल्थ्यो र शब्द उसका मुखबाट टुटेर, भाँच्चिएर र क्षतविक्षत भएर निस्कन्थे । तर, उसकी जहान अर्थात् आशाकी आमा भने आशाजस्तै हँसिली र उज्याली थिई । अनुहारमा बिफरका दाग थिए तर तिनले उसको अनुहारलाई खासै अनाकर्षक बनाउन भ्याएका थिएनन् ।
मेरो वार्षिक परीक्षाको समय नजिक आउँदैथ्यो । म प्राय: सबै विषयमा कमजोर थिएँ । हिसाब, विज्ञान र अंग्रेजी मगजमा घुस्नै मान्दैनथे । त्यसैले घरमा एक जना अख्तर सर आउँथे मलाई, दिदी र बैनीलाई ट्युसन पढाउन । उनी खुब पिट्थे । खुब कान निमोठ्थे । उनीसित पढ्नु यातनाजस्तै लाग्थ्यो मलाई । त्यसैले म प्राय: पेट दुखेको बहाना गर्थें र एक घन्टैसम्म चर्पीमा बसिदिन्थेँ ।
स्कुलबाट बटुलेर ल्याएको चकका टुक्राले चर्पीका भित्तामा आशाको चित्र बनाएर बस्थेँ र त्यही चित्रसित भन्थँे, ‘आइलब्यु ।’
चित्रबाट निस्कन्थी आशा । म पनि चर्पीबाट कल्पनाको बगैँचामा पुग्थेँ । आशाले त्यही बगैँचामा मलाई अँगालो मार्थी । केहीबेरमै ऊ गर्भिणी हुन्थी । केही बेरमै उसले बच्चा पाउँथी र केहीबेरमै म पाइलट भएर प्लेन उडाउँथे ।
जाँचका दिनहरूमा मलाई घरबाट निस्कन निषेधजस्तै थियो । निस्कने हिम्मत पनि हुँदैनथ्यो । नपढे पनि किताब हेरेको जस्तो गर्नुपर्ने बाध्यता थियो । म कहिलेकाहीँ किताब लिएर बरन्डामा आउँथे र त्यहीँबाट आशाको घरतिर टुलुटुलु हेरिरहन्थेँ । धेरै दिन भइसकेको थियो मैले आशालाई नदेखेको । उसको घरमा कुनै चाडबाड थियो क्यार ! उसको घरको पछाडिबाट डमडम डमडम केही बाजाहरूको आवाज आउँथ्यो ।
केही नयाँ खालका मान्छेको चहलपहल पनि देखिन्थ्यो उसको घरमा । तर, म उसको घरमा जान सक्ने र उसको घरको चाडबाडमा सामेल हुने स्थिति थिएन । यतिन्जेल मैले आई लभ युको अर्थ बुझिसकेको थिएँ र आशालाई बताउन व्यग्र थिएँ ।
अन्तत: जाँच सकियो । म फ्रि भएँ । पहिलो दिन नै हतारिँदै आशाको घरमा पुगेँ । आशा मलाई देखेर खुसी भई । उसकी आमा पनि खुसी भई । हामी फेरि धूलोमा खेल्यौँ । उसले फेरि धूलोमा प्यार–मोहब्बतको निसानी बनाई । मलाई फेरि सु आयो । मैले सु गर्दै भने, “आशा ! आइलब्यु ।”
उसले इँजार लगाउँदै सोधी, “के भनेको ?”
मैले भने, “म तँलाई प्यार–मोहब्बत गर्छु ।”
उसले नसुनेको जस्तो गरी । होइन, नसुनेको जस्तो गरेकी होइन । वास्तवमा मैले केही भनेकै थिइनँ । आवाजै निस्केको थिएन मेरो घाँटीबाट । म यसै यसै नर्भस भएको थिएँ । तर, आशा उत्साहित थिई । उसको अनुहार अरू दिनभन्दा चहकिलो थियो । उसले खुसी हुँदै भनी, “मेरो त बिहे भैसक्यो । अब केही दिनमा त मेरो गौना पनि भैहाल्छ । म अब चाँडै आफ्नो खसमको घर जान्छु ।”
मेराअगाडि बाक्लो अँध्यारो भयो । मैले केही देखिनँ त्यसपछि । यति मात्र देखेँ, आशा इँजारमा गाँठो पार्दै छे । उसको इँजारसँगै मेरो मनमा पनि गाँठो पर्दै छ । इँजारको अन्तिम गाँठो पार्दै उसले भन्दै छे, “मेरो खसम त नानपारामा टाँगा चलाउँछ ।”
मैले त्यसपछि कल्पनामा प्लेन उडाउन छाडिदिएँ ।
प्रकाशित: भाद्र ३०, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )