~अमर शाह~
यहीँ रहनेछ उत्तरको अग्लो डाँडो
र, यतै छुट्नेछ
सूर्योदय र सूर्यास्तमा रंग बदल्ने आकाश
भेटिने छैनन् अब
बाटोघाटो र बजारमा
परिचित, अर्धपरिचित धेरै मुस्कानहरू ।
आफ्नो याममा
छोपिनेछन् फेरि
ज्याकरन्डा र मे फूलका रूखहरू
बैजनी र राता पछ्यौरामा ढपक्कै
तर, यता हुने छैनन् मेरा आँखा
हेर्नलाई त्यो सुन्दर दृश्य
न आकाशमा हेरिरहेको म हुनेछु
क्षणक्षणमा बदलिइरहने
बादलका आकारहरू झ्यालबाट ।
छुट्दै छ सुर्खेत पनि
जसरी छुटे जीवनयात्राका अरू बिसौनीहरू
र, केही बेरमा म लग्नेछु
झोला, बाकस र गुन्टाका साथ
केही थान सम्झनाहरू पनि सुर्खेत छोड्दा ।
अमूल्य सम्पत्ति सम्झनाहरू
जो बाँचिरहनेछन् मनका कुनाकानीमा
र, जसलाई सुमसुम्याउँदै काट्नेछु म
मेरो बाँकी जीवन ।
प्रकाशित: वैशाख २१, २०७१
(स्रोत : नेपाल साप्ताहिक)