~अभागी थेगुवा~
काठमाडौँ
आखिर
काठमाडौँ नै रहेछ ।
उससँग एकपल्ट भेट्ने रहर
दोहोरो चिनजान गर्ने इच्छा
मसँग नभएको कहाँ हो र ?
तर, गुनासाका बिस्कुन लगाउन
चार भन्ज्याङ काट्न सकिएन
उसले पक्कै चिन्दैन होला
नचिनोस् नचिने पनि
त्यो काठमाडौँलाई सलाम छ
लुङ्गा ! नबिर्सी सुनाइदिनुहोला !
काङ्सोरेहरूलाई इतिहासमा भेटिनुपर्छ
बीसे नगर्चीहरूले शिर उठाउन पाउनुपर्छ
इतिहास जित्नेकै लेखिए पनि
जिताउनेहरू नबिर्सौं भनेको हुँ
यता उभिएको फक्ताङ्लुङ्गसङ्गे
उता दोधारा र चाँदनी पनि त
हाम्रो नै हो भन्न खोजेको हुँ
तर, चारघेराभित्र हराएर
आफूअघि ठडिएको धरहरा
मात्र अन्तिम उचाइ हो ठानेर
उसले अन्यथा सोच्दै होला
जेसुकै सोचे पनि
काठमाडौँलाई सलाम छ
लुङ्गा ! नबिर्सी सुनाइदिनुहोला ।
रोदी र बालनसँगै
पालाम र घाटुसरी गाइनुपर्छ
हुर्रा र देउडासँगै
चण्डी र झिझिया नासिनुपर्छ
शक्तिकै पूजा गरिए पनि
निमुखाहरू नमिचिऊन् भनेको हुँ
सगरमाथाको उचाइसँगै
केचनाको गहिराइले
पशुपतिको भजनसँगै
सिलौतीको एकतारेले
दजिन पाउनुपर्छ भन्न खोजेको हुँ
तर, आधुनिकताको खोल ओढेर
आफूमाथिको खुला भाग
मात्र पो आकाश हो ठानेर
उसले पृथकतावादी मान्दै होला
जस्तोसुकै माने पनि
त्यो काठमाडौँलाई सलाम छ
लुङ्गा ! नबिर्सी सुनाइदिनुहोला !
उसले पक्कै नचिनेर
अन्यथा अन्यथा सम्झँदै होला
अनि
पृथकतावादीको बिल्ला नै भिराउँदै होला
आखिर
जेसुकै ठाने ठानोस्
त्यो काठमाडौँलाई सलाम छ
… लुङ्गा !
एकपल्ट नबिर्सी सुनाइदिनुहोला !!
(स्रोत : नेपाल साप्ताहिक)