~निमेष नेवाः~
फुर्सदको समय
न यता, न उता
वैरागी पहर
बिस्तारै चिहाउँछ ।
मुसुक्क हाँस्छ
नवयुवतीको हाँसोझैँ
एउटा छुट्टै तरंग फैलाई
न साथमा कोही हुनुपर्छ
न कोही चाहिन्छ
एक्लाएक्लै
संवाद हुन्छ
कहिले पीरको
कहिले चिन्ताको
कहिले सुखको
कहिले दुःखको
सचित्र प्रस्तुत हुन्छ ।
आफैँ सहभागी भएझैँ
भावुक बनाउँछ
भित्रभित्रै रुवाउँछ
चित्त बुझाउँछ
कहिले कताको
कहिले कताको
घटनाहरू….
केलाउँछ, टकटकाउँछ
पुराना मनन गर्दै
नयाँ भर्दै
एउटा उमंगको आस्था
झकझकाउँदै
हल्का सुवास छर्दै
फुल्छ
अटुट एक थुँगा फूल
उही त हो
कल्पना !
(स्रोत : नेपाल साप्ताहिक)