कविता : सपना देख्ने बानी गरौं

~केशव भट्टराई~Keshab Bhattarai

सपना देख्नु पर्छ यस्तो मलाई लागेको छ,
मैले, तिमीले अनि हामी सबैले सपना देख्नैपर्छ
सपनाविना विपना कसरी सुखद हुन सक्छ र ?
कल्पनाविना यथार्थ कसरी श्रृजना हुन सक्छ र ?

सपना देख्नमा पनि किन कंजुस्याई ?
आखिर सपना नदेख्दैमा कसले के नै पाएको छ र ?
सपना देख्दैमा कसले के नै गुमाएको छ र ?
यसैले जतिसक्दो धेरै सपनाहरु देख्ने गरौं,
जतिसक्दो राम्रा,अनि रहरलाग्दा
एकसे एक उत्कृष्ट र आनन्ददायी सपनाहरु देख्ने गरौं ।

सपना देख्न हामीलाई कसले रोकेको छ र ?
सपना देख्न हामीलाई केले छेकेको छ र ?
कुनै कानूनले सपना देख्न बन्देज त लगाएको छैन,
कुनै नैतिकताले सपना देख्नमा भाँजो हालेको त छैन ।

विपनामा जस्तो सपनामा दरिद्रता देखाउनु पर्दैन
यथार्थमा जस्तो कल्पनामा कंगाल बन्नु पनि त पर्दैन,
अनि अल्छी र लाछी पनि हुनु पर्दैन,
बुद्धु र बोधो पनि हुनु पर्दैन,
त्यस्तै कांतर र अनाकांक्षी पनि हुनु पर्दैन ।

सपनामा अरुभन्दा कमजोर बन्न के जरुरी छ र ?
सपनामा अरुभन्दा असभ्य किन बन्नु परेको छ र ?
त्यसैले सपनामा अरुहरुले नगरेको काम गर्ने गरौं ।
अरुहरुले नसोचेको कुराहरु सोच्ने गरौं ।
विस्मयकारी अनि अजंगका श्रृजनाहरु रच्ने गरौं ।
सुनै सुनका फूलहरु फुलाउने गरौं ।
धनै धनका थुप्रोहरु फलाउने गरौं ।

सपना नदेखी संसार रच्न कहाँ सकिन्छ र ?
कल्पनाविना कसरी वास्तविकता देखिन सक्छ.
मलाई त लाग्छ,
हामी सपना नदेख्नाले नै कमजोर भएका छौं ।
कल्पना गर्न नसक्दा नै हामी दरिद्र भएका छौं ।
सपना देख्न नजान्नाले हामी तल परेका छौं ।
अरु भन्दा अपहेलित र निमुखा भएका छौं ।

सोचाइको एनिमियाले हामी आक्रान्त भएका छौं ।
कल्पनाको शुन्यताले हामी अभावग्रस्त बनेका छौं ।
हुन नसक्ने कुरा किन सोच्ने ?
यसो भन्नाले नै हामी सांच्चै नै नहुने भएका छौं,
नजान्ने कुरा गर्दै नगर्नाले हामी सांच्चीकै नजान्ने बनेका छौं,
त्यसैले अब हामी सपना देख्नमा कजुंस्याई नगरौं,
कल्पना बुन्नमा हामी हेलचेक्रयाई नगरौं,
आफ्नो सोचाइको क्षितिजलाई फराकिलो पारौं,
साना कुरामा अलमल नगरी ठूलो बन्नतिर लागौं ।

बारी, खोल्सा र कान्लाहरुमा सुन फलाउन,
डाँडा, पाखा र बगरहरुलाई हिरै-हिराले ढाक्न,
गाऊँ वस्ती र शहरहरु रोपवे रेलवे र सडकहरुले जोड्न,
गगनचुम्बी महलहरुले जमीनलाई छोप्न,
लटरम्म फलहरुले बगैंचाहरुलाई ढाक्न,
सुनै सुनको खानीमा बसेर सुनकै व्यापार गर्न,
धनै धनको पोखरीमा बसी सम्पन्नताको स्वाद चाख्न,
ठूलो हृदयले नयां कामको थालनी गरौं ।
नयाँ जोश र जांगरले भव्य र विस्मयकारी सपनाहरु देख्ने गरौं ।
सबैभन्दा अगाडि अनि सबैभन्दा माथि हुने,
सबैभन्दा सम्पन्न अनि सबैभन्दा समृद्ध बन्ने,
महान सपनाहरु दैख्ने गरौं ।

-हङकङ

May 27th, 2008

(स्रोत : Nepal.hk)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.