लघुकथा: शहीद

~सुशीला देउजा~Sushila Deuja

आज सहिद दिवस । स्वर्गमा पुगेका सहिदहरु आफूहरुले देशको लागि गरेका त्याग तपस्या र त्यसको उपलब्धिबारे छलफल गर्दै चिन्तित मुद्रामा देखिन्थे । प्रजातन्त्र आएपछि देशमा जनता दासत्वबाट मुक्त भई अधिकार सम्पन्न नागरिक हुनेछन् । देशले द्रूत गतिमा विकास गर्नेछ । जनता सुखी र सम्पन्न हुनेछन् । कसैको धाकधम्की र दवावमा बस्नुपर्ने छैन भन्ने हाम्रो सपना थियो । त्यसैको लागि हामीले जीवन बलिदान दियौं तर आजपर्यन्त देश र जनताको हालत झन झन खराब हुंदै छ । के कारणले यस्तो भएको होला ? ती यस्तै यस्तै छलफल गर्दै थिए ।

खुईय गर्दै एक सहिदले भने ‘तर आज देशको अवस्था देख्दा लाग्छ हाम्रो त्याग र तपस्याको कुनै अर्थ छैन । हाम्रो सङ्घर्षकाे न कुनै मूल्याङ्कन छ न कुनै गणना’ । भावुक भएका अर्का सहिदले भने ‘खोलो त¥यो लौरो बिर्सियो भनेझै अब त हाम्रो सम्झना पनि छैन जस्तो छ । हुँदा हुँदा हाम्रो सालिक समेत तोड्न अघि सरे’ ।यसैबेला त्यहां कल्यांङमल्याङ गर्दै केही व्यक्तिहरु आइपुगे । सहिदहरुले उनीहरुलाई सोधे ‘तपाईहरु को ? कहाँबाट आउनुभएको’ ? उनीहरुले बडो अहम्का साथ भने ‘हामी नेपालबाट आएका महान सहिद हाै । सुनेर पुराना सहिदहरु छक्क परे । तपाईहरु कहिले कसरी शहीद हुनुभयो ? ती मध्ये ठेटनाले भने – म जुलुसमा पुलिसको गोलीले मरेको । मलाई पार्टीले सहिदको पदवी दियो । अर्कोले भने – म आन्दोलनमा भाग लिन जांदा गाडी दुर्घटनामा परेर मृत्यु भएर सहिद भएको । म डाँकाहरुको गोली लागेर मरेको, मुलुकमा आन्दोलन चलिरहेको थियो त्यसैले सहिदमा दर्ता भएँ । म पार्टीको काममा जाँदै गर्दा मरें र सहिद हुने मौका पाएँं ।, अर्कोले भने । यसरी प्रत्येकले आफू सहिद भएको बेहोरा सगर्व भन्न थाले । कुरा सुनिरहेका सहिदहरुले ककसले के के भने सम्झनै सकेनन् ।

(स्रोत : Samajjkoawaj)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.