कविता : पहाडकी रानी

~महेश रेग्मी~

तिमी हिँडेपछि
तिमीसँगै
म हिँड्ने बाटो पनि हिँडेछ ।

अब मसँग हिँड्ने बाटाहरु छैनन्
अब मसँग हेर्ने आँखाहरु छैनन् ।

छोरी हिँड्ने गरेको बाटोमा
एउटा छाया हिँडिरहेको छ
तिमी हिँड्ने गरेको बाटोमा
लासैलास हिँडिरहेका छन् ।

प्रिय !
तिमीबिनाको स्वतन्त्रता स्वादिलो छैन
तिमीबिनाको जीवनको सत्ता ढलिरहेछु ।

हिजो फुत्किएको समय
कहाँ पुग्यो होला ?
म समयहीन समय छाडिएँ
रेलस्टेशनमा कुनै लगेजसरी ।

छाया समात्न खोज्छु
तस्बीरको

समय बोलाउँछु
तानसेनमा ।

तानसेनको श्रीनगरडाँडाबाट हेरे पनि
पशुपतिनगरको फाँटकडाँडाबाट हेरे पनि
दार्जिलिङ्गको घुम पहाडबाट हेरे पनि
भोगाइ उही छ
दृश्य उही छ
दृश्य मर्दैन
आँखाको भोक मर्दैन
म ढुङ्गाको सिरानी हालेर नाङ्गो आकाश हेरिरहेछु
र समय मेरो टाउकोमाथि
डेमोकल्स्को नाङ्गो तरवार भएर झुण्डिएको छ
मात्र म आवाज बाँचिरहेको छु
के तिमीले सुन्यौ ?
मेरो आवाज
तानसेनको आवाज
जिन्दगीको मौसममा ।

पहाडकी रानी !
मेरो पनि आँसु बगेको छ- टिष्टामा
मेरो पनि रगत बगेको छ- टिष्टामा
मेरो पनि देश छ- टिष्टामा
र, तिमीले त्यही टिष्टालाई छोएर भन !
के हामी दुर्इ किनार भयौँ ?
मेरो अन्तिम उकालो प्रश्न तिमीलाई !

– तानसेन-पाल्पा, हाल : काठमाडौ
2008

(स्रोत : Nepal.hk)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.