~गोपीकृष्ण प्रसाई~
यो रात औंसीको रात
आकाशमा टह टह ताराहरु चम्किरहेछन
जुन कतै लुकेको होला प्रेमिल क्षणमा झुकेको होला
बगिरहेछ कतै जीवन रुपी खोला
थुप्रै थुप्रै झमेलाहरूको सिरानी बनाएर
निन्द्रा बल्झाउनुको पीडाले
वार्तालाप चलिरहेछ रात संग आज
रात पनि बोल्छ म पनि आफ्ना कुराहरु खोल्छु
जवाफ दिएरै पनि रात स्पस्ट हुन सकेन
म प्रश्न गर्या गर्यै छु
रात आफै दुखेको रहेछ
उसका अनेकौ अनुत्तरित कुराहरु संग संगै आए
झिसमिसे बिहान सम्म प्रश्नोत्तरहरु चलिरह्यो
हावाको गति अलि बढेकै छ
मनको अन्तरमा धुमिल आवरण सजेकैछ
मुर्छित भएर बिउंझेका मेरा तन्द्राहरु
जाग्दो रातले सबै लग्यो मेरा निन्द्राहरु
हाँस्नु अनि रुनु जस्तो
दिन र रातको मिलन पनि कस्तो कस्तो
लाग्छ यो रात रोइरहेछ
आँसुले परेलीहरु धोइरहेछ
निस्तब्ध रातमा झयाउँकिरिहरु कराइरहेका
जुनकिरिहरु धर्तीमा जुन बाट ओर्लिरहेका
रातकै कुरा गर्दा कहिँ कतै
रातमा आत्माहरु भड्किन्छन भनेर सुनाइएकोछ
रातमा मुर्कुट्टाहरु जाग्छन भनेर अर्थ्याइएको छ
रातको सुरुमा चलेको हावा चलिरहेकै छ
ढल्की जाने जोवन ढलिरहेकै छ
दिन ढलेर रातमा बास लिएको हो कि?
रात नगलेरै दिन संग डुल्न निस्क्या हो कि?
यी सृंखलाहरु सोध्नुनै ब्यर्थ छ
अनेकौ सृंखलाहरु भन्दा अत्यधिक बलशाली छ रात
प्रकृति हो यो त
मैले हेर्नु सिवाय केहि गर्न सक्तिन
मैले रमाउनु सिवाय केहि भन्न सक्तिन
म केवल मनन गर्छु र यथास्थितिमा बस्छु
किनकि चल्ने निरन्तरता चलिरहेकै छ
अल्बर्ट आइन्स्टाइन र सापेक्ष्यताबाद
आइज्याक न्यूटन र गुरुत्वाकर्षण
बाहिर निस्कंदा देखिने ताराहरु
सम्झनामा आउने ग्यालिलियो
सौर्यमण्डलको सिद्दान्त
पृथ्वीको उत्पति
र देवी भागवतका कथाहरु
मधु कैटबको हाड र मांसपिण्ड
अनि ढुंगा र माटोहरु
धर्म र विज्ञानका आ आफ्नै पाटाहरुछन्
मान्छेलाई जिउने यहाँ अनेकौ बाटाहरु छन्
जिउनु पर्छ यहाँ विश्वास अनि भरोसामा
जिउनु पर्छ यहाँ सन्तोष अनि संघर्षमा
यिनै कुराहरुले आज रातलाई उचालेको छ
रुझानमा परेको छ आज मेरो अन्वेषण
म गान्धीलाई रातमा उज्यालो पाउंछु
म मण्डेलालाई रातमा पढिरहेको ठम्याउंछु
मेरो रातमा तपस्वी बनेका शान्तिका दुत गौतम बुद्ध
क्रसमा टांगिदा पनि जीवन ज्योति छर्ने जीसस क्राइस्ट
आमाको रोदन अनि दृश्यपटलमा आउने म्याक्सिम गोर्की
म पुलकित हुन्छु
तरंगहरु झंकृत हुन्छन
आकाश गंगा जगतभरि हाँसेको छ
यो संसारमा विचरण पनि गजबै छ
भगवानको लिला
म इश्वरको पुजारी
मनले प्राकृतिक माला गाँसेको छ
फ्लोरेन्स नाइटिंगेल र उनको करुणामा रमेका रातहरु
एडोल्फ हिटलर अनि ग्यांस च्याम्बरको मृत्यु
यिनै कुराहरु असरल्ल छरिन्छन मझेरीमा
म पनि कहाँ कहाँ पुगेछु आज त
रात मलाई सुत्न निर्देशन दिइरहेछ
तर चैन छैन मनमा
बाहिर स्याल कराइरहेको आवाज
भ्याप्सिलो भ्याप भ्याप गर्दोछ
कुकुरहरु भुकिरहेछन
जनावरका आ आफ्नै रोदनहरु
अनि
प्रकृति आफ्नै धुनमा नाचेको छ
पृथ्वीले ब्रह्माण्डमा अमर माया साँचेको छ
कल्पन्सिल विश्व
निन्द्रा लागेन आज ………
नसालु बनोश यो रात
बैंसालु बनोश यो रात
तेसैले आज केहीको पर्वाह छैन
तर पनि रात रातै हो
एकैछिन तन्द्रामा म पुगेछु
आकाशमा उडिरहेको बेला
कतै राक्षसी आक्रमण हुन्छ
भाग्दा भाग्दै अवतरण हुन्छु पृथ्वीमा
झल्यास्श बिउझन्छु र रात संग बात मर्न थाल्छु
अनेकानेक प्रश्नहरु संगै
विश्राम नलिएरै रहनु पर्ने
कल्पनाहरु सजाउनु पर्ने
रातमा सम्झिदै जांदा मैले बाल्मिकी र शेक्सपियरलाइ सम्झे
जिन्दगि एउटा महाकाव्य अनि नाटक जस्तो
समुन्द्र पिउने अगस्ती ऋषिको इच्छाशक्ति पनि कस्तो कस्तो
झम झम पानी परेर पातमा ठोकिएको संगीतले मलाई उराल्छ
केले केले सम्झनाहरु बेरिएर मन तेसै बराल्छ
फेरी भन्न मन लाग्छ
दिन सान्त मुडमा थिएन
मनमा कुदिरहेका कल्पनाहरु
मनले मागिरहेका चाहनाहरु
दिनभर अप्राप्तिको पीडाले छट्पटिंदा
गोधुली संसार भरि आँशुहरु खसेछन
टाढा टाढा क्षितिजमा आफ्नै तस्वीर देखे मैले
उसले रातको प्रतिक्ष्या गर्नु भन्थ्यो
अनि त रातलाई पर्खेर बसें
छिप्पीइसकेको रात
सुनसान छ चुस्त छ दुरुस्त छ
न मेरो कुरानै सुन्छ
न सुतेको छ
न दुखेको छ
छटपटी मेरो छ चिट चिट पसिना छ निधारमा
अनेक प्रश्नहरु तेर्स्यांए रात संग
ति प्रश्नहरु उल्लेख भैसकेकाछन
मेरो मन अस्थिर बनेर चौपट्टै छ
तर पनि यो मनको जिज्ञासा गलेको थिएन
किनकि यो रात अझै ढलेको थिएन
हो सांच्चै
रात ढलेको थिएन !
(स्रोत : कवि गोपीकृष्ण प्रसाईको कविता संग्रह “रात ढलेको थिएन” बाट सभार)