~रामकृष्ण वान्तवा~
प्राणीमध्ये बुद्धि-विवेक भएको मानिस
बुद्धि भएर गर्दैन पुण्य किन मानिस ?
धेरै छ यहाँ गर्ने गरी कुनै साध्य छैन
केही गरी जाऊँ, जन्मेर मर्नु मात्र हैन
प्राणी जन्मेर मर्नु त संसारको रीतै हो
अमर नाम राखी जानु अति नै राम्रो हो
छोरा तिमी के झुण्ड्याउँछौ कुण्डल कानमा
जुल्फी पाली जात फाल्छौ गुन्द्रुकको झोलमा
तिमी त मानिस हौ, ऋतु त अवश्य होइनौ
किन रुप बदल्छौ तिमी पागल होइनौ
बिन्ती गर्छु जन्मेर मात्र नमर भन्छु म
बोलेर हुन्छ के गरेर देखाऊ भन्छु म
हातमा हात काँधमा काँध कम्मर कसेर
गर काम हे मनु तिमी संसार हेरेर
फर्केर हेर घर कस्तो छ भनेर
आमाकी हालत घरमा के साध्य भनेर ?
चिच्याउँछे आमा खरानी घरमा हेरेर
सन्तान तिम्रा रुँदैछन् भविष्य सम्झेर
हेर त्यो तिम्रो घरको के हालत हुँदैछ ?
खरानीमाथि हामफाली मुसा त जाँदैछ
यही कथा सुनेर माता झोँक्रेर बस्दैछिन्
विचरी श्रृष्टिकर्ता माता सराप्दै रुँदैछिन्
यसरी विकृति ल्याउने नगरौँ भन्छु म
आफ्नोपन संस्कार हाम्रो नभुलौँ भन्छु म
मनु, राम्रो रुपले हुन्न बुद्धिले हुँदछ
ढुङ्गो कुँधी सुन त हुन्न यो कुरो सत्य छ
प्राणीमध्ये बुद्धि-विवेक भएको मानिस
बुद्धि भएर किन गर्दैन पुण्य मानिस ?
खोटाङ
हाल जोर्डन, हङकङ
June 17th, 2008
(स्रोत : Nepal.hk)