कविता : सङ्घर्ष गर यहीं

~ठाकुर मान लामा~ Thakur Man Lama

ए बाबु !
अब तिमीले कतै जानु पर्दैन रे ।
तिम्रो सपना फुल्नलाई,
अन्तै कतै भूमि खोज्नु पर्दैन रे ।

ए बाबु !
अब तिमी आफ्नो शीप,
यही माटोमा छर्न सक्छौ रे !
परिश्रमको एक एक पसिना,
मोतीका रुपमा भर्न सक्छौ रे ।

ए बाबु !
नेपालमा सुनौलो किरणसाथ
नौलो बिहानी उदाइसकेको छ,
हेर त हिमाल पनि
चन्द्रमाझैं मुसुक्क मुस्कुराएको छ ।

ए बाबु !
बुद्घको यस पावन भूमिमा
शान्तिको लहर छाइसकेको छ,
जागरण, आत्मीयता, सानिध्यता
नेपालका हरेक वर्गले जगाइसकेको छ ।

ए बाबु !
नेपालमा कालो रात,
अब कहिल्यै ब्युँझदिैन रे ।
स्वतन्त्रता, अखण्डताका निमित्त,
यहाँ कोही कोहीसँग झुक्दैन रे ।

ए बाबु !
तिमी सुन्दै त छौ नि मेरो कुरा,
छाडिदेऊ पर्राई भूमिमा जाने बारे,
एक हात तिमी उठाऊ,
कैयन हातहरु तिमीसँग मिल्न तयार छ रे ।

ए बाबु !
नयाँ नेपाल बनाउन
तिम्रो साथ चाहिन्छ रे ।
सङ्घर्ष गर यहीं,
नेपाल आमा त्यही हेर्न चाहन्छिन् रे ।

ललितपुर

June 17th, 2008

(स्रोत : Nepal.hk)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.