लेख : उत्तर आधुनिकता भत्केको-साकेला

~देश सुब्बा~Desh Subba

म स्तब्ध भएँ । फेरि पनि स्तब्ध भएँ । म २५ तारिख आइतबार ताइमोसान पहाडमा किराँत राई यायोक्खा हङकङले आयोजना गरेको उत्तर आधुनिक साकेला पर्वमा पुगेको थिएँ । यो एउटा महान पर्व हो आदिवासी किराँत जातिहरूको । यो एउटा नेपालका आदिवासीहरूले आदिम कालदेखि बचाएर ल्याएको गर्वको पर्व हो । मानव इतिहासको विकासक्रममा प्रारम्भिक काल, आधुनिककाल, उत्तर आधुनिक काल नालीबेली पर्दै, विभिन्न घुम्तीहरू काट्दै यो पर्व यहाँसम्म आइपुगेको छ । यस पर्वमा विभिन्न जातजाति, विभिन्न पेशा, साथीभाइ, आफन्त इष्टमित्रको भेटघाट हुने गर्छ । यो एउटा आदिवासी जनजातिहरूको प्रतिभाको प्रदर्शनको थलो पनि हो । त्यसैले यस कालमा यसलाई उत्तरआधुनिक साकेला भन्न पनि सकिन्छ । उत्तर आधुनिक अर्थमा यो एउटा उत्तर आधुनिक साकेला बजार पनि हो ।

यस पटकको यस पर्वमा उत्साहजनक रूपमा सहभागीहरूले शुभकामना साटेर पर्व मनाए । पसिनाले वर्षा गरिन्जेल नाचिरहे । जनसहभागिताको हिसाबमा यो हङकङको असफल कार्यक्रमहरू मध्येको सफल कार्यक्रम रहृयो । किराँत राई यायोक्खा हङकङका पदाधिकारीहरूको अथक परिश्रम, लगनशीलता र उनीहरू माथिको आमजनमानसको विश्वासको फल थियो यो । यी सबैको निमित्त उपस्थित सबैलाई धन्यवाद र विशेष आयोजक, पदाधिकारीहरूलाई हार्दिक धन्यवाद दिनैपर्छ ।

मैले सामान्यतया लेखहरू लेख्न छाडिसकेको छु । यसपटक मैले लेख्नै पर्ने ठानँे । किनभने यसपटक आन्दोलनसँग गाँसिएका विषयहरू परे, उत्तरआधुनिक चिन्तनसँग गाँसिएका गम्भीर कुरा परे । एउटा जातीय विधानको प्रमुख बूँदामा उल्लेख भएको कुरा पर्‍यो । संभव छ कसैलाई त्यस्तो नलाग्न सक्छ । बोध र अबोध विषयमा भयवादमा धेरै कुरा उल्लेख गर्दै आइरहेको छु । यसलाई मैले उठाउन भयवाद गर्ने ठानेँ । भयवादमा भन्दैछु, “आन्तरिक द्वन्द हुन्छ मान्छेको, आन्तरिक द्वन्दको एउटा जीत मान्छेको निर्णय हुन्छ, मान्छेको निर्णय बाहिरी निर्णयहरूसँग द्वन्द गर्दछ ।” मैले गरेको आन्तरिक द्वन्दको परिणाम बाहिरी ल्याएको छु । यसले निश्चित रूपमा बाहिर द्वन्द गर्ने नै छ र एउटा प्रकट बन्ने छ ।

म उत्तर आधुनिक चिन्तनमा स्तब्ध यस कारण भएको छु । यस कालमा आएर हामी ज्यादा नदी किनाराको कुरा गर्छौं, हामी अधिकार किनाराको कुरा गर्छौं, हामी शासन किनाराको कुरा गर्छौं, हामी जातयि किनाराको कुरा गर्छौं, हामी आदिवासी समालोचनाको कुरा गर्छौं र हामी ‘सवर्टन थक’को कुरा गर्छौं । यी सबैको सुगम आग्रह भनेको समानता, समावेशीताको कुरा हो । त्यसभित्र लुकेको गर्त कुराचाहिँ हाम्रा मान्छेहरू पछाडि परेको कुरा हो । ती मान्छेको प्रतिभा विकास, भाषा लिपि, धर्म-सँस्कारको विकासको कुरा हो । त्यसैलाई विकास गर्न जातीय, क्षेत्रीय संस्थाहरू बनाएर अगाडि बढिरहेका छौ । हाम्रा गौरव भनेको भाषा, लिपि, धर्म-सँस्कारको विकास हो । यसले हामीलाई गौरवान्वित बनाउँछ । हाम्रो अर्को गौरव भनेको हाम्रा प्रतिभाहरूको विकास पनि हो ।

म साह्रै मर्माहित भएर यो अक्षरमा आउनुको कारण उत्तर आधुनिक साकेलामा मैले नचिताएको दुर्घटना भएको छ । म पहाडको साकेलामा पुगेर भर्खरै उभेको थिएँ । म साकेलामा उभ्नुको कारण उपस्थित हुनु हो र किराँत प्रतिभाको सहयोग गर्नु थियो । त्यसो त विधानसम्मत यो जिम्मेवारी किराँत राई यायोक्खाको पनि हुन आउँछ । खोटाङ निवासी कवि देवेन्द्र खेरेसको कविता संग्रह “रुङ्रीको बयान र नदी किनारा” को भर्खरै मे २३ तारिखमा र कवि नरेश सुनुवारको कविताकुति “जिन्दगीको पहाड र अस्तित्व राँकुदेले सेक्सेलले….मे ११ तारिखमा विमोचन भएको थियो । तिनीहरूको बजार गर्नुपर्ने कर्तव्य मैले पनि ठानेँ र कविहरूलाई उत्साह थप्न साकेलामा आइपुगेको थिएँ । बिक्री हुनु नहुनु अर्कै कुरा थियो । यसले साकेलाको सौन्दर्य बढाउँथ्यो । जति धेरै मान्छेको उपस्थित भयो, त्यो राम्रै कुरा हुनु पर्ने ठानेको थिएँ । पहाडकै पर्वहरूमा पनि सुर्तिबिँडी बेच्नेदेखि सानातिना घुमन्ते व्यापारी हुन्छन् नै । त्यसले पर्वको महिमा बढाएको हुन्छ घटाएको हुँदैन ।

हातमा पाँच वटा किताब थिए । परममित्र र साहित्यका राम्रा पाठक साथै आफै पनि लेखक कूलद्विप राईजीलाई मैले आग्रह गरे । यो मेरो आत्मीयताको आग्रह थियो । यो नै पहाडको मेरो प्रथम आग्रह थियो । उहाँले लिइसकेको कुरा भन्नु भयो र क्षणभरको मौनतापछि दुर्घटना बोली बोल्नु भयो -”देशजी, यहाँ किताब बेच्न मनाही छ ।” म स्तब्ध भएर उभिरहेँ । सोचिरहेँ, आधुनिकताबाट नसुनिने ‘इथानोक्रिटिसिम’का आवाजहरू, उत्तर आधुनिकताको केन्द्रहीनताहरू, रोलाँ बार्थको पाठक चिन्तन र केन्द्रहीनता भत्केको उत्तर आधुनिक-साकेला । सार्वजनिक कार्यक्रममा मलाई कानून लाग्नुको गल्ती खोजिरहेँ ।

त्यसको दश मिनेटपछि अर्को दुर्घटना घट्यो । किराँत राई यायोक्खा हङकङका अध्यक्ष नरहाङ राई स्वयँ आएर भन्नु भयो -”देशजी, तपाईंको बारेमा उजुरी परेको छ । तपाईंले आएर किताब बेच्नु भएछ ।” यसलाई मैले किराँत यायोक्खा हङकङको निर्णय मानेँ तर पनि एभरेष्टका सम्पादक किसन राई भन्दै थिए- “बेच्नुहोस्, बेच्नुहोस्, जति बेच्नु होस् ।” अनि उहाँहरूबीच जातिलाप भएको सुनेँ । यसले अर्को स्तब्ध दियो । म उभिरहेँ चेतनातिर हेरेर । मभन्दा अगाडि नै कवि देबेन्द्र खेरेस आफैले ‘रुङ्रीको बयान र नदी किनारा’ र श्याम सुनुवारले ‘जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले’ बेचिरहनु भएको थियो । उहाँहरूलाई गीतकार बिमल राई र प्रेम राईले सक्दो सहयोग गरिरहनु भएको थियो । त्यस्तै अरू साथीहरूले आफूले सकेको सहयोग गरिरहनु भएको थियो । अरू पनि साथीभाइ, दिदीबहिनी र संस्था आफैले पनि केके हो, बेचिरहेको देखेँ । प्रश्न ममा आएर अडियो । साथीहरूसित हल्का कुरा राखे । आश्चर्य मानिरहेका थिए । मलाई दुर्घटना हुनुको कारण देश सुब्बाले धेरै किताब बेचेको सास्ती हो या मैले गरेको नश्लवादी आन्दोलन ‘अपमान’, ‘आदिवासी’ वा ‘भयवाद’को हो बुझन सकिनँ । साहित्यमा आन्दोलनको कुरा मेरो घाटाको व्यक्तिगत व्यापार भएको कुरा पनि बुझन नसकेको रहेछु, ठानेँ । त्यो दिन त मैले त्यो घाटाको व्यापार पनि गरेको थिइनँ ।

हामीमा जागेको ‘सवर्टन’ चेतना, ‘इथनिक’ चेतना सोचेर भयवादीय द्वन्द शुरु गरेँ । अन्तोत्वगत्वा निर्णय बन्यो र बाहिरी द्वन्दमा आयो । रुङ्रीको बयान र नदी किनारामा रुङ्रीको कवित्व ‘डिफेन्सिभ’ गरेको याद आयो । याद आयो रुङ्रीः समय, रुङ्रीः चेतना, रुङ्रीः जीवन, रुङ्री संस्थाको र रुङ्री साकेलाको । त्यसो त मैले किराँत संस्थाहरूसित नयाँ वर्षको बारेमा र महान चाड चण्डीको बारेमा पनि विमर्श गरेको छु । जब एउटा जातीय संस्थाले आफ्नो प्रतिभाको अवमूल्यन गर्छ भने भोलि कहाँ गएर गौरव गर्ने ? एउटा लेखकलाई पछाडि राखेर विचारहरूको आन्दोलन कसले गर्ने ? एउटा लेखकलाई काम गर्न बन्देज लगाएर इतिहास र भाषा, लिपि कहाँ खोज्ने ? एउटा पहाडको पर्वमा व्यापारीहरू, नाच्ने गाउने, भेटघाट गर्ने मान्छे भएनन् र आफ्नो सँस्कारको कुरा भएन भने त्यसको रुङ्री कहाँ हुन्छ ? केही जातीय र क्षेत्रीय संस्थाहरूमा परेको चेतनाको संकट आफूलाई सबटर्नीय चेतनशील ठान्ने संस्थाहरूमा पर्‍यो भने के हुन्छ ? यो संकट सोचेर म झन् स्तब्ध भएको छु र भैरहेको छु ।

-लेखक कवि तथा उपन्यासकारलगायत भयवादको प्रस्तोता हुन् :-सम्पादक

Monday, May 26th, 2008

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.