~तीर्थ श्रेष्ठ~
आफ्नै चेतनाका किरणहरूको स्पर्शबाट म ब्यूँझेको छु
र, तिमीलाई भन्दै छु
ओ काठमाण्डू !
सिँगान
खकार
थुक
र मलमूत्रले आल्हादित छौ तिमी ।
कसले काटिदियो तिम्रो हात ?
कसले भाँचिदियो तिम्रो खुट्टा ?
कसले टालिदियो तिम्रो आँखा ?
कसले खोसिदियो तिम्रो बोली ?
र, चुपचाप सहेर बसेका छौ तिमी ।
ओ काठमाण्डू !
तिम्रो वाग्मतीमा सूर्य-किरण नाक थुन्छ
तिम्रो विष्णुमतीको छेउबाट प्राणवायु भाग्छ
कुन मञ्जुश्री पर्खेर बसेका छौ तिमी ?
पाँचतारे होटलका कक्टेल डिनरहरूमा
किन पस्किन सक्दैनौ तिमी
सिँगान, खकार, थुक
र मलमूत्र
तिम्रा डबलीहरूमा बेइमानीका दहीलीलाहरू मञ्चित भइरहेका छन्
तिम्रा पटाङ्गिनीहरूमा
इतिहास बिक्रीका लागि सजाइएका छन्
न तिमी लाखे नचाएर
तर्साउन सक्छौ अपराधीहरूको शासनलाई
न तिमी जिउँदा ख्याकहरूलाई
टुँडिखेलमा भात पस्केर मन्साउन सक्छौ ।
ओ काठमाण्डू !
उठ
खड्ग साट्न छाडिदेऊ
ओ काठमाण्डू !
उठ
खुट्टा कमाउन छाडिदेऊ
ओ काठमाण्डू !
उठ
भातेहरूको भजन गाउन छाडिदेऊ
ओ काठमाण्डू !
उठ
घोडा बन्न छाडिदेऊ ।
अजंगका दलालगाथाहरूमुनि थिचिएर
मृत्यु पर्खेर नबस्नू काठमाण्डू
पाखण्ड पर्वका नायकहरूसमक्ष घुँडा नधस्नू काडमाण्डू
ओ काठमाण्डू !
अपराधी हातहरूबाट शृंगारको स्वप्न व्यर्थ छ ।
(स्रोत : नेपाल साप्ताहिक)