~गोबिन्दबाबु तिवारी~
भातसात खाएर घरका सबैजना टिभीमा झुम्मिरहेका थिए, अचानक घरका बुढा घुप्लुक्क ढले । मुर्छा परे खैलाबैला भो, रुवावासी चल्यो । सवै अक्क न बक्क भए । के गर्ने, कसो गर्ने ? यस्तैमा झट्ट बुढी कराइन् – डाक्टर बोलाओ, डाक्टर
यो आवाजले सबै झल्याँस्स भए र जेठाले तत्कालै फोन उठाइहाल्यो । तर अक्मकियो । किनकि उ त डाक्टरको फोन नम्वर थाहा नभइकनै फोन समात्न पुगेको थियो । त्यसपछि उ पनि चिच्याउन थाल्यो – होइन कुन डाक्टरलाई बोलाउने हो र ? नम्वर कति हो ? जवाफ कतैबाट आएन ।
यस्तैमा फेरि बुढी कराइन् – होइन के को कुन् डाक्टर र नम्वरको कुरा गरी राख्या भन्या ? एउटा लाठे दौडेर गएर डाक्टर बोलाएर ल्याउन सक्दैनौ ?
बुढीको आद्रस्वर सकिंदा नसकिंदै साँहिलाले फाल ठोक्यो । करिब आधा घण्टा पश्चात एउटा डाक्टरलाई सँगै लिएर आइपुग्यो । घरका सवै जना केही आश्वस्त भए ।
डाक्टरले सरसरी विरामी माथि दृष्टीपात गरे । नाडी छामे । आँखाको परेली तानेर हेरे । अनि भने – के भाको ?
बुढीले भनिन् – खै डाक्टर साब् के भो, के भो ? सँगै वसेर टिभी हेर्दा हेर्दै ह्वा त घुप्लुक्क ढलेर मुर्छा परीहाल्नु भो ! बोल्न पा’ भा’ पो र यस्तो भा’को भन्नु । देखिहाल्नु भो’नि । उ अहिले सम्म पनि मुर्छामै हुनुहुन्छ ।
डाक्टर केही नबोली आला कानमा लगाएर आदतबस विरामी सँग बात् मार्दै जाँच्न थाले – पहिले पहिले पनि यस्तो हुन्थ्यो ?
०००००००००००००००००००
कुनै रोगको औषधी खाने गर्नु भा’ छ ?
०००००००००००००००००००
ल अलि लामो श्वास फेर्नुस् त । ह्याँ, ह्याँ, गर्नूस् त ।
०००००००००००००००००००
यतिखेर सम्ममा पनि रोगीले कुनै प्रतिक्रिया नजनाए पछि डाक्टर छक्क परे र अनि भने – ए १ ह्वाँ त मर्छा पो पर्नू भा’रच ।
2004- 12- 07
(स्रोत : Damadol.com)