~राजेश क्षेत्री~
म धकेल्न खोज्छु यसलाई, पर सारिदेऊ न भन्दै
म लत्याउन खोज्छु यसलाई, कहिले देख्नु नपरोस् भन्दै
झन् टाँस्सिन्छे, हात तान्दै डोर्याउँछे मलाई
झन् नदेख्ने गरी कहिले घचेड्छे मलाई ।
जर्फरिएर बिउँझन्छु, मलाई एक टकले हेरी बस्छे
उठेर झ्याल खोल्छु, बाहिर जाली कि भनी
जाडो भएझैँ गरी अझ च्याप्प टाँसिन्छे
बिस्तारै म फर्किन्छु, निदाउँछे कि भनी ।
कुहिरोले ढाक्दा गुम्म परेर मेरो हात सुम्सुम्याउँछे
उज्यालो दिनमा मसुक्क हाँस्दै मेरो अघिपछि नाच्छे
म झोक्रिएको बेला, मेरो टाउको सुम्सुम्याउँछे
पीडामा छट्पटिँदा मेरो शरीरसँगै काप्न थाल्छे ।
अँध्यारो हराउनुपर्ने होइन र ? म आफैँलाई सोध्छु
बत्ती निभाउँछु, आँखा चिम्म गरेर बिर्सन खोज्छु
निस्पट अन्धकारलाई छिचोल्दै अगाडि ठिङ्ग उभिएकी छे
मुसुक्क हाँस्दै, मलाई जिस्काउँदै, मेरो आत्मालाई बुझेझैँ गर्छे ।
बिउँझिएको छु म आज मध्यरातमा अनौठो सपना देखेर
यसले मलाई छोडिछे रे, भन्दै नभनी कता हिँडिछे
पागल झैँ खोज्न थालेँ, आफ्नो अस्तित्व हराएको सम्झेर
मीठो विपना भनेको यही रै’छ, यो काली त यही रै’छे ।
जन्मिँदै यसलाई लिएर आएँ, अब मर्दा पनि साथै लानेछु
सँगै हिँड्छु भन्छे, हात थाम्न खोज्छे, म हात समाइदिन्छु ।
प्रकाशित: श्रावण ५, २०७१
(स्रोत : नेपाल साप्ताहिक)