~शिव पी नेपाल~
त्यो प्रमिथसको आगोको फिलिङगो,
हिजो बिहान् लाटो कामीको आरनमा
खलातीको बिंडमा लागेको बाहुबल
देखेर सगरमाथाको फेदिमा
उत्रिएको एक डफ्फा खैरा पर्यटकझै
उत्साहले डुक्रेर चिसिएका
नांगा भिमफेदीहरु
फेरी आगोकै सपनामा सिरिङ्ग हुने
काला फलाम रापिएर
भिन्न भिन्न आकिर्तिका औजारहरु
लाटो कामिको आरनमा
बन्दै, भुत्तिदै, अर्चापिदै
फेरी नयाँ धारको रचनामा
फलाम हरु रेटिरहेछ लाटो कामी!!
लाटो कामी बेसुरले भन्छ,
फलामजस्तो हैन रहेछ मान्छे!
जत्ती तताएपनी रातो नहुने,
“तिम्रा पैतालाले चोखिएको धर्तिमा
औंठा छाप मान्छेका लोभलाग्दा मुर्ती कुंदेर
कस्तो अचम्म बर्मुडाभित्र लुकायौ
त्यो मुर्ती न देख्न मिल्छ,
न खोज्न मिल्छ,
तिमीले कुंदेको मुर्ती
तिम्रै ईतिहासको म्युजिएममा रहिन्छ
भोली यही हिमाली धर्तिमा मिल्ला त ?”
अजिव चेतनाको लिस्नो ओर्लेरपनी
फेरी घरबाटै स्वर्ग जाने पुल
कोही दाताले अनुदानमा बनाइदी हाल्छ कि?
नभए, बचन मात्रै दिएपनी
स्वर्गको कल्पनामा
चन्द्रे दोभान बिर्सिएर
सिम्लेपाखो र अंधेरिको भीर
कती सहज हुन्थ्यो होला !
शिव पी. नेपाल
चन्द्रेटार, नुवाकोट
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )