~पूर्ण इन्फादा~
पोतेको छु- पसिनाले यो माटोको कण-कण
भिजाएको छु- लछप्पै रगतले
अहोरात्र खटेर
बचाएको छु- मृत्युको मुखबाट
सिकाएको छु- जीवन बाँच्ने कला
जीवनको लय बिग्रेका मान्छेलाई
मजस्तै दीनहीन बेसहारालाई ।
सिंगो जिन्दगी सहर्ष दिएँ गाउँलाई
विवेकको मूल्य
श्रमको मूल्य
जीवन अस्तित्व
यति हो मैले मागेको ।
ओ मेरा पि्रयजनहरू !
थाहा छ-
हुँदैन ढुंगाको मन र पग्लिँदैन
हुँदैन ढुंगाको देउता
र, छैन यसमा संवेदना ।
मात्र चिन्ता छ- यी अबोध लालाबालाको
मात्र चिन्ता छ- यो निरीह गाउँको
मात्र चिन्ता छ- यो कार्चोपी टोपीजस्तो देशको
थाहा छ मलाई
ढल्छ जुनै समय यो थकित देह
तेल निथि्रएको बत्तीझैँ निभ्न सक्छ
म हारेँ यो निर्मम मृत्यु र गरिबीसँग
देशको सुन्दर चित्र कोर्दाकोर्दै
गाउँको अनुहार कुँद्दाकुँद्दै
रङ-रङका जीवनचित्र हेर्दाहेेर्दै ।
किन दुखिरहन्छ सरोगेट मदरजस्तो विद्रुप थिति ?
किन देखिरहेछु मात्र खरानी उडेको तुवाँलो दृश्य ?
किन दुखिरहेछु म ?
किन दुखिरहेछ क्यान्सर ?
जिन्दगीको भिख मागिरहेछु
बाँच्ने या मर्ने अधिकार देऊ- मलाई ।
अक्षम्य अपराध भयो मेरो
बसेँ- सीमान्तकृत दुर्गम गाउँमा
सायद भूल भयो
मलम लगाएँ- उत्पीडितहरूको घाउमा
यो गर्तमा टेकेर
तिरस्कृत तिरस्कारजस्तो
निष्प्राण कसरी बोलूँ
खोजिरहेछु यतिखेर
मात्र एक घुट्को जहर ।
म चित्रप्रसाद
अब छैन मसँग कुनै सपना
छैन कुनै विपना पनि
थाकेँ जिन्दगीको चित्र कोर्दाकोर्दै
र, बनाएँ लाचार मृत्युचित्र
सकिनँ- आँसु चाटेर बाँच्न ।
प्रकाशित: श्रावण ५, २०७१
(स्रोत : नेपाल साप्ताहिक)