~विजय योजीत~
जलें हूँ म काँटी र टेक्यौ जलाई
बुझें जिन्दगानी छ जस्तै सलाई !
निभायौ तिमीले कि आँधी चलेथ्यो
थिएँ या म आफैं मधूरो बलाई !
समायौ र औंला जलेंझै नकार्यौ
दुखाएर गयौ सबै ती भलाई !
उचालेर जस्ले जितायो उसैको
गएछौ रमाएर आस्था ढलाई !
उमारें बिरूवा त हो कागती नै
र भोग्दै छु ऐले म रिठ्ठो फलाई !
छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन सालिम
रूक्न : फऊलुन् × चार, गण : यमाता × चार
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)