~सरस्वती शर्मा ‘जिज्ञासु’~
मिलनलाई कल्पी कल्पी रुन्छु म त यथार्थमा
भेटिएकै अमूल्य क्षण बुन्छु म त यथार्थमा
तिम्रो यादमा बिक्षिप्त भई कल्पनामा हराउँदै
उर्लिदिन्छ प्यारको भेल चुम्छु म त यथार्थमा
मेरो मन पछि लाग्छ छाँया जस्तै तिमीसित
तिम्रो तस्बिर हृदयमा छुन्छु म त यथार्थमा
मन छुने स्वर तिम्रो गुन्जिदै छ मेरो कानमा
पल पलमा तिम्रो बोली सुन्छु म त यथार्थमा
सम्झना र तिर्सनामा नयन रस झरी दिन्छ
पिँजडाको सुगा जस्तो हुन्छु म त यथार्थमा
सरस्वती शर्मा जिज्ञासु
कुश्मा, पर्वत
(स्रोत : मधुपर्क २०६७ पुस)