~देवी नेपाल~
भन्छन् देश डुब्यो डुबे नि पहरा, पाखा र झर्नाहरू
भन्छन् भेष म¥यो मरे नि मनका भाका र आशाहरू
ढल्दै छन् इतिहासका धरहरा आदर्श ढल्दै गयो
गिर्दो यो गरिमा उठाउनु छ है दायित्व हाम्रै त हो ।
फोस्रा ढोँग भए अनन्त रचना लेखिन्न माटो जहाँ
अन्धाधुन्ध हिँडेर पुग्नु र कहाँ देखिन्न बाटो जहाँ
दाँजोमा अब पुग्नुपर्छ सृजना त्यो विश्वसाहित्यको
हाम्रा काव्यकला सिँगार्नु छ अझै दायित्व हाम्रै त हो ।
कालोमात्र हुँदैन भव्य जलधी भित्रै छ हीरा पनि
काँडामात्र गुलाब हैन सँगमा छन् फूलका माधुरी
बिग्रे सन्तति बिग्रियो नि दुनियाँ सन्त्रास बढ्दै गयो
आफ्नो सन्तति हो सुधार्नु छ यहाँ दायित्व हाम्रै त हो ।
बाँझो खेत छ उम्रिँदैन बिरुवा छैनन् युवा गाउँमा
वृद्धावृद्धसँगै उदाउँछ सधैँ यो देशमा चन्द्रमा
पैसा खोज्न विदेश राहुल हिँड्यो खै अस्मिता बुद्धको !
भाग्यो शक्ति सबै छ राख्नु घरमा दायित्व हाम्रै त हो ।
नेता भ्रष्ट भए सुरम्य धरणी बन्दै गयो जर्जर
रातो सूर्य डुब्यो बिहान नहुँदै आगो बल्यो भर्भर
आस्था, त्याग, विचारसून्य दुनियाँ निर्लज्ज बाँच्ने भयो
भो नेतृत्व खराब फेर्नु छ नयाँ दायित्व हाम्रै त हो ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)