संस्मरण : ग्रामीण वर्गसंघर्षमा सुन्तिसलाल कारवाही

~श्यामकुमार बुढामगर ‘चिन्तन’~Shyam Kumar Budha Magar Chintan

समयले आज हामीलाई जुन ठाउँमा उभ्याएको छ र भोलि कहाँ पु-याउँछ ? त्यो कुरा अहिल्यै भन्न सकिन्न । आजका मितिसम्म हामी जे छौं र भोलि के हुन्छौं ? त्यो पनि भन्न गाह्रो छ । जीवन संघर्षको मोडहरुले मानवजीवनलाई कहाँ पु-याउँछ ? त्यो भन्न सकिने विषय रहेनछ । जीवनको बाल्यकाल के थियो ? त्यसपछिको सपना के थियो तर समयको आँधीहुरीले के बनाइदियो ? यी सबै कुरा त्यसबेला भन्न गाह्रो थियो । आजसम्म आइपुग्दा हामी बितेका बीचका समयमा भीषण युद्धको यात्री भयौं । अनि फेरि अहिले अर्को आँधीले भौतिक जीवन र मानसिक जीवनको संसारलाई घेरिरहेकै छ । यो जिन्दगीको अन्त्य ‘घरमा हुन्छ या बगर’मा त्यो पनि अनिश्चित नै छ । तथापि आज समयले घरमा जन्मिएको जिन्दगीलाई ‘घर न घाट’ को मोडमा उभ्याइसकेको छ ।

युद्ध थालनीको अनिश्चित भविष्य, युद्धको विकास सँगसँगै मूर्त हुँदै गर्दा आज फेरि समयको चक्रमा भविष्य अनिश्चियको दलदलमा फसेको छ । जुन उद्देश्यको भुँवरीमा होमियौं, त्यो कुराहरुको मुनाफा आज चरम अवसरवादी तत्वहरु र मुठ्ठीभर नेताहरुको झोलामा कैद भएको छ । हिजो हामीले जे ग¥यौं र जे उद्देश्यका लागि ग¥यौं, त्यो हेर्दाहेर्दै किंवदन्तीमा परिणत हुँदै गइरहेको छ । त्यसैले ती सबै कुराहरु एउटा मान्छेको शब्द संयोजनद्वारा लेखेर वा प्रयास गरेरमात्र पूर्णरुपमा सुरक्षित गर्न सम्भव छैन । तथापि, यस क्षेत्रमा कार्यरत रहनु भएका सबै साथीहरुद्वारा थोरै धेरै शब्दमा लेखेर र अन्य ढंगले पनि सुरक्षित गरिनु आवश्यक छ । परन्तु, यस कार्यमा पनि जो साँच्चिकै जनयुद्ध र यसका घोषित उद्देश्यका लागि समर्पित साथीहरु हुनुहुन्थ्यो, उहाँहरुको अनुभव र अनुभूतिहरु अनि भोगाई र गराईका प्रस्तुतिहरु भन्दा अवसरवादी लाछी, लालची र नाम कमाउने भोका तत्वहरुले नै सुनेको आधारमा प्राप्त सतही र छिपछिपे अनुभवहरुलाई बढी लेख्ने गरेको पाइन्छ । यस्तो साहित्यिक प्रवृत्ति हाम्रो युद्ध साहित्यमा पनि बिस्तारै हावी हुँदै गइरहेको छ । त्यसैले ती वास्तविक योद्धाहरुको अनुभव र अनुभूतिहरुलाई हाम्रो आजको युद्ध साहित्यमा अन्तरघुलन गरी अनुशीलन गर्ने हो भने मात्र यसको वास्तविक सजीवताको पूर्णता सम्भव हुनेछ । अन्यथा, हाम्रो युद्ध साहित्य बौद्धिक तस्करीको दलदलमा फसेको छिपछिपे र उरेन्ठेउलो बन्न पुग्ने छ । यसको गरिमा रक्षार्थ भए पनि यस दिशामा आजका जिम्मेवार पक्षको गम्भीर पहल आवश्यक छ ।

अपितु, आज ती वास्तविक योद्धाहरुको जिन्दगी पीडा, चिन्ता र निराशाको भुँवरीमा घोप्टिएको छ । आन्दोलनका सक्कली योद्धाहरु ती मौकापरस्त तत्वहरुको छाँयामुनि किल्चिएका छन् । कति त हतास हुँदै, रुँदै–रुँदै परिवार र आफ्नो जिन्दगी बचाउने, अनि खानेलाउने र बस्ने चीजको जोहो गर्न विदेशको गल्लीमा भरिया र कुल्ली काम गर्न हिडिसकेका छन् । कतिपय गलत कामधन्दाको थालनी गरेर जेलमा कुहिएका छन् । कति आँसु पिएर पार्टीलाई सराप्दै जीवन धान्ने बाटो खोजिरहेका छन् भने कति बंगारा बजाउँदै नेताहरुप्रतिको आक्रोश साँचेर अन्तिम धैर्यताको परीक्षण गरिरहेछन् । तथापि, आज पार्टीको बोलबाला निकायमा होस् या सुखसुविधा पाउने निकायहरुमा भने चरम अवसरवादी तत्वहरुको चाकडी चाप्लुसीमा आधारित नाता (रगत), नश्ल (मासु) र लभी (मुनाफा)ले जरा गाडेको छ ।

आज मैले यो संस्मरण लेख्दै गर्दा यही भद्दा परिदृश्यहरुको प्रस्तुतिमा विगतको गौरवशाली माओवादी चुर्लम्म डुबेको छ । र, माओवादी फेरि विगतको उसको घोषित उद्देश्यपूर्ण सपना जो लोभलाग्दो सपना नटुङ्गिदै निद्रा भंग भएपछि अतृप्त हृदयको तलतल नमेटिएर पुनः त्यही सपना देख्ने कामना गरेझैं माओवादी युद्धको उद्देश्य फेरि कहिल्यै नदेखिने गरी हराएर जान्छ या विपनाको यथार्थमा उभिन्छ ? त्यो पनि भन्न गाह्रो छ । परन्तु, मैले आज यो भने त्यही सुन्दर आदर्शप्रतिको अनुरागमा लिप्त क्षणमा गरेको सुन्तीसलाल कार्यवाहीको छोटो संस्मरण प्रस्तुत गर्न चाहन्छु ।

कुरा आजभन्दा सत्र वर्षअघिको हो । म त्यतिबेला २० वर्षे लक्का जवान थिएँ । त्यसबेला मेरो जीवनभन्दा प्यारो सर्वहारा वर्गीय आदर्श थियो । सर्वहारा वर्गको सत्ता जसरी पनि यो देशमा स्थापना गरिछोड्ने अदम्य संकल्पले मलाई दिनरात पार्टीका काममा खट्ने ऊर्जा प्रदान गरिरहेको थियो । सर्वहारा वर्गीय सत्ता स्थापनाकै लागि म आफूलाई नै बलि चढाउनु परे खुशीका साथ चढाउने प्रण गरेको थिएँ । जिल्लामा व्याप्त कांग्रेसी अत्याचार र राज्य आतंकलाई सदाको लागि मेटाउन हामीले छापामार कार्यवाहीको अभ्यास गर्ने क्रम अघि बढाएका थियौं ।

त्यसबेला प्रहरी प्रशासन भनेको कांग्रेसीको बपौती जस्तै थियो । मानौं पुलिस भनेको कांग्रेसीहरुको पैतृक सम्पत्ति हो । सही र गलत छुट्याउने र गलत काम गर्नेलाई कारवाही गर्ने भन्दा पनि जस्तो अपराध गरेपनि कांग्रेसीहरु भनेपछि त्यो सबै सही ठह¥याउनु पर्ने र अरुले राम्रो न्यायिक काम गरे पनि त्यो अपराध नै भनिन्थ्यो । उनीहरुको न्यायिक कार्यको परिभाषामा बर्बर दमन मात्र पर्दथ्यो । यसर्थ क्रमशः वातावरण प्रतिरोधात्मक, घर्षणात्मक र द्वन्द्वात्मक बन्न पुग्यो । त्यसैले जनताको तर्फबाट बर्बर दमनको प्रतिरोध गर्नुको विकल्प बाहेक केही बाँकी रहेन ।

राज्य भनेको सबै जनताको साझा हितमा समर्पित वस्तु हो । राज्यले सबैको न्याय र अन्यायको यथोचित छानविन गर्नु पर्दछ । न्यायोचित काम गर्नेलाई सम्मान र कदर गर्नुपर्दछ र अन्याय गर्ने जतिलाई सजाय गर्नुपर्दछ । परन्तु, त्यसबेला कांग्रेसी राज्य आतंकले प्रहरी प्रशासन त्यसो गर्न असमर्थ रह्यो । यसको साटो प्रहरी प्रशासन कांग्रेसको पेवा सम्पत्तिको रुपमा दर्ता भयो । कांग्रेसीहरुको मात्र सुरक्षा गर्ने र अरु सबैलाई उत्पीडनको जाँतोमा पिस्ने खेल चल्यो । फलस्वरुप हामी निर्दोष हुँदाहुँदै पनि प्रहरी र कांग्रेसी अत्याचारी शाषकहरुको उत्पीडन र दमनको शिकार हुँदै गर्दा हामीभित्र विद्रोहको ज्वाला दन्कँदै गयो । क्रमशः कांग्रेसीहरुसँगको मुठभेडले उत्कर्ष पकडिसकेको थियो । उनीहरु प्रायः प्रहरी अघिपछि लगाएर प्रहरीकै बीचमा हिड्ने गर्दथे । प्रहरीसँग मिलेर हामीलाई बाटोघाटोमा प्रहरीद्वारा गिरफ्तार गर्न बथान्ने, मध्यरातमा गाउँघरमा छापा मार्ने, मध्यरातमा लुट र बलात्कारको आतंक चलाउने, सुराकी लगाएर एकाएक गाउँमा आएर हामीलाई छोप्न प्रयास गर्ने जस्ता मानव शिकारी भएर कांग्रेसीहरु ब्वाँसोझै ताक खोजिरहन्थे । हामीजस्ता सयौं युवाहरु र जनताहरुमाथि झुठा मुद्दाको चाङ लागिसकेको थियो । जेल र हिरासतमा महिला, बालबालिका र बुढाबुढी समेतले भरिने गर्दथ्यो । तोरख खेप्नेहरुको हुलले प्रत्येक गाउँको बाटोघाटोदेखि सदरमुकामसम्म लाइन बनाउँथ्यो । त्यसैले कांग्रेसी अत्याचारसँगै प्रहरी संरक्षित स्थितिमा प्रत्यक्ष लड्न सम्भव नभएपछि मौका छोपेर प्रहरीबाट एक्लिएको बेला छापामार तरिकाले आक्रमण गरेर चेतावनी दिनु र चेताउनु बाहेक हामीसँग अर्को विकल्प रहेन ।

फलस्वरुप हामी ग्रामीण वर्ग संघर्षको रुपमा छापामार लडाईको प्रारम्भिक अभ्यास गर्न थाल्यौं । यही सेरोफेरोमा जिल्लामा पूर्व र पश्चिममा छापामार दलको प्रारुपका रुपमा लडाकु दल बन्यो । र, छापामार कारवाहीको पनि प्रारुप शुरु हुन थाल्यो । ती छापामार टीमसँग त्यतिबेला लाठीहरु मात्र हतियारको रुपमा प्रयोगमा थिए । लुकेर दुश्मनको सूचना संकलन गर्नु, तिनीहरुको गतिविधि नियाल्नु, उनीहरुको योजनाहरु पत्ता लगाउनु अनि बाटोमा कुरेर उनीहरुमाथि भौतिक हमला गरेर चेतावनी दिनु छामापार दलको प्रारुपका रुपमा गठित लडाकू दलको प्रारम्भिक लक्ष्य थियो । त्यही लक्ष्यलाई प्राप्त गर्ने क्रममा भएका रोल्पा जिल्लाका दर्जनौं कारवाहीहरु मध्येको एक कारवाही थियो, उवा गा.वि.स. निवासी सुन्तीसलालमाथिको ग्रामीण वर्ग संघर्षकालीन छापामार कारवाही । जो जनयुद्ध थालनी हुनुभन्दा डेढ वर्षअघि रोल्पा जिल्लाको फगाम गा.वि.स.को झिजा भन्ने ठाउँमा भएको थियो ।

उवा निवासी सुन्तीसलाल नामको कांग्रेसी नेता प्रहरीको अलावा व्यक्तिगत रुपमा कराँते सिकेको व्यक्तिलाई बडीगार्ड राख्दथे । त्यसबेला उनी ठेक्कापट्टा र व्यापार पनि गर्दथे । उवाबासी जनतालाई झुठा मुद्दा लगाएर सताउनेदेखि गिरफ्तार गराउने, लुटपाट गर्ने, तत्कालीन जनमोर्चा (जो हालको नेकपा माओवादीको त्यसबेलाको चुनाव लड्ने वैधानिक संगठनको रुपमा बाबुराम भट्टराईको अध्यक्षतामा निर्मित संयुक्त जनमोर्चा नेपाल नामको संगठन हो, जसले आफूलाई २०४८ को संसदीय निर्वाचनमा तेस्रो ठूलो दलको रुपमा उभ्याएको थियो) समर्थक जनता र कार्यकर्ताहरुलाई कुटपिट समेत गर्ने र आफैले मुद्दा लगाएर जेल पठाउने कांग्रेसी कमाण्ड ग्रुप मध्येको एउटा थिए ।

सायद २०५१ सालको कार्तिक महिनाको थियो । बिहानीको घाम विस्तारै मध्यान्हको चरणमा प्रवेश गर्दै थियो । शरदे चिसोको पूर्व सन्ध्याकालीन समय भएर होला दिनको घाम सबैको लागि प्यारो वस्तु लाग्न थालेको थियो । वर्षा सकिएर मात्र होइन, गाउँघरमा किसानहरुको अन्न भित्र्याउने मुख्य काम सकिएको घडी अनि चाडपर्वहरु पनि लगालग चलिरहने अवधि भएकोले गाउँघर असाध्यै रमाइलो हुन्थ्यो । प्रवासिएका आफन्तहरु चाडपर्वको लागि घर फर्किएर गाउँघर भरिभराउ हुने र टाढाटाढा गाईभैंसीका गोठहरु सबै दशैतिहार जस्तो चाडपर्वको बेला गाउँ भित्रिने भएकोले पनि स्वतः जनसंख्याको केन्द्रीकरण उनी गाईवस्तुहरुको गाउँमै केन्द्रीकरण हुने हुँदा गाउँघर त्यसबेला दैनिक मेला पर्व चलिरहेझैं हुने गर्दथे मगर वस्तीहरुमा । दमाहा, मादल, बाँसुरी जस्ता परम्परागत बाध्यवादनहरुले गाउँघर गुञ्जन्थे र युुवायुवतीहरुको गीत, संगीत अनि पे्रम भाव साट्नको लागि यो अवधि एउटा अवसरयुक्त क्षणको रुपमा उपस्थित हुन्थ्यो ।

दशै तिहारको नौमती बाजाको गुञ्जनले युवा रगतमा नयाँ गति र ऊर्जा प्रवाह गरिदिन्थ्यो । बुढा–पाकाहरु आफ्ना पौरख गाथाको अतीतलाई सम्झदै ‘मर्ने मान्छे त अभागी हो, बाँच्नेहरुको लागि उही शरद (मौसम) र उही बेला (समय) आउँछ’ भन्दै आफ्ना रोमान्टिक अतीतलाई वैरागिदै सम्झन्थे । यो अवधिमा गाउँघरमा सिंगारु नाचको भाकाले रौनक मच्चाउँथ्यो । अनि मादल बजाउने कुराले सबै युवाहरुलाई केन्द्रित गर्दथ्यो । तिहारे भैलोको यो बेला खुब प्रतिक्षा गरिन्थ्यो । चेलीहरु भाइटीकाको प्रतिक्षा गर्दै मखमली फूलको माला उन्ने सपनाले रोमान्चित हुन्थे । आफ्ना प्रियजनहरुको वार्षिकरुपमा यस क्षणको सहचार्य र सहकार्यले सबैको मनमा प्रशन्नता छाउँदथ्यो । मन परेको प्यारो साथी अनि साथीहरुको भेटघाटहरु युवा युवतीका लागि भावी जिन्दगीको सुःखद् शुरुवातीका गहिरो स्पर्श अनुभूतिको संकल्पपत्र बन्दथे ।

परन्तु, बदलिएको राजनीतिक माहोलमा यी ग्रामीण जीवनको यो सहज नियममा केही वर्षयता खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि जबर्जस्त हस्तक्षेप भएको थियो र झण्डै क्षतविक्षत भइसकेको थियो । दलीय संघर्षले गाउँहरु विभाजित भएका थिए । जनजातीय गाउँहरुमा समेत राजनीतिक समीकरणको चाप बढ्दो थियो । ती राजनीतिक समीकरणहरुको बीचमा अन्तरघुलनभन्दा अन्तरसंघर्षको स्तर धेरै माथि रहेको पाइन्थ्यो । अझ निकट विगतका दुई वर्षहरुमा त झनै प्रहरी दमन र हस्तक्षेपका आतंकपूर्ण छाँयाले समेत गाउँघरमा प्रवेश गरिसकेको थियो । प्रहरीहरुको लागि चाडपर्वहरु कांग्रेसी इच्छानुसार रिसइवीमा परेका मानिसहरुलाई छोपिदिने एउटा सुनौलो अवसर बन्न थालेका थिए । प्रहरी र कांग्रेसका लागि मानव शिकार गर्ने अवसर थियो भने जनताका लागि आतंक र दमनको चरम बज्र सहन गर्ने घडीको रुपमा चाडपर्वहरु आउन थालेका थिए ।

समयले सबैलाई सिकाउँछ र जहाँ समस्या हुन्छ, त्यहाँ उपाय पनि हुन्छ । जहाँ दमन हुन्छ, त्यहाँ विस्फोट जन्मन्छ । शान्त पानीलाई पनि धेरै ततायो भने उम्लन्छ । ठिक यही स्थितिमा थिए रोल्पाली ग्रामीण जनता । उनीहरुका लागि दमनको विरुद्ध प्रतिरोध अनिवार्य कडीजस्तै भइसकेको थियो । चाडपर्व जनताको सुख छिन्ने साधनका रुपमा कांग्रेसीहरुले प्रयोग गर्थे भने तीनको परिवारमा पनि बेखुशीको बादल मडारिदिन प्रतिरोधको तयारीमा जनताको तर्फबाट हामी लडाकु दलमा आवद्ध युवाहरु लागिसकेका थियौं । त्यसबेला हाम्रो दुनियाँमा दुःखैदुःख र उनको संसारमा खुशी खुशी मात्र हुने कुरा हाम्रो लागि सह्य थिएन ।

तिथिमिति त सम्झन सकिएन तर कार्तिकको प्रारम्भिक दिन हुनु पर्दछ । आज त्यो दिनको सम्झना गर्दा त्यो कारवाहीको संयोजन गर्ने कमिसार तथा कमाण्डर आदरणीय कमरेड किमबहादुर थापा सुनील)को सहादत भइसकेको छ । त्यस कारवाहीमा सहभागी मध्य जैमाकसला निवासी धनसिङ बुढाथोकीको असामयिक निधन र तेवाङ निवासी संगीनको दाङकै सतवरिया कब्जा गर्दा सहादत भइसकेको छ । बडाचौर सेवार निवासी कमल बुढाथोकीको र चेतमान खत्री पलायन भइसकेका छन् भने त्यस कारवाहीमा समावेश भएकामध्ये तेवाङका एकजना साथी र ममात्र आन्दोलनको निरन्तरतामा छौं ।

दिनको एघार बज्दै थियो । क. सुनिलको पत्र र दुईजना तेवाङ्गी साथीहरु लिएर मा. वि. बडाचौरमा अध्ययनरत जैमाकसला निवासी धनसिंह बुढाथोकी मेरो घरमा आइपुगे । कमल बुढाथोकी, चेतना खत्री र म रातमा प्रहरीको सम्भावित रातको छापाबाट बच्न सुरक्षित स्थानमा सुतेर खाना खानको लागि मेरो घरमा आएर ढिँडो पकाउँदै थियौं । ठिक त्यसैबेला साथीहरुको आगमन भएपछि हामीले ढिँडोको पानी थप्यौं र पत्र पढ्यौं । पत्रमा भोलि बिहान सुन्तीसलाल उसको बडीगार्डको साथ सुलीचौरबाट उवा जाने तथा आज ऊ लिवाङबाट सुलीचौर बास बस्न आउने कुरा उल्लेख थियो । तसर्थ यो अवसरमा उसलाई बाटोमा कुरेर छापामार आक्रमण गरी स्वागत गर्नुपर्ने कुरा पनि उल्लेख गरिएको थियो । त्यसका लागि दुईजना तेवाङ्गी साथीहरु समेत पठाइएको कुरा जनाउँदै पत्रवाहक धनसिङलाई बिहानै सुलीचौर पठाई सुन्तीसलालको गतिविधि हेर्ने र हामीम्म खबर पु¥याउने दूतको रुपमा प्रयोग गर्न उल्लेख गरिएको थियो ।

हामी सबै ढिँडो बनाएर सिस्नोको तरकारीसँग खायौं । रातमा गोठमा सुत्दा चिसोले निद्रा त्यति सम्प्रिएको थिएन । त्यसैले दिनमा प्रहरी आइहाल्ने सम्भावना नभएकोले हामीले भोलिको कारवाहीको खातिर समेत आजै सुत्नुपर्ने कुरालाई ध्यानमा राख्दै आँगनमा गुन्द्री ओछ्याएर घामको आनन्दमयी रापमा निदायौं ।

साँझ सूर्यास्तपूर्व नै हामी उठ्यौं । खाना बनाउने तयारीमा लाग्नुपूर्व हामी भोलिको कारवाहीको विषयमा बैठक बस्यौं । धनसिङलाई सूचनावाहकको रुपमा मात्र प्रयोग गर्ने भयौं । उनी त्यसबेला जम्मा १५ वर्षको मात्र थिए । हामी पाँच जनाले त्यो कारवाहीमा पूर्णरुपमा भाग लिने । तेवाङ्गका दुई जना साथीहरु डिफेण्डरको भूमिकामा रहने । हामी तीन जनाले एसाल्ट गर्ने । घातक हतियारको रुपमा खुकुरी लाने । त्यो खुकुरी तेवाङ्गका साथीहरुसँग रहने । लडाईमा हाम्रो पक्षमा घाइत भइयो भने वा पहल गुमेर हामीलाई नै प्रत्युत्पादक हुने स्थिति देखा प¥यो भने खुकुरी प्रयोग गरी हाम्रो साथीको उद्दार गर्ने जिम्मा तेवाङ्गी साथीहरुलाई दिइयो । त्यो कारवाहीको नेतृत्व मैले गर्ने र हामी तीनजना सडकमा गएर अगाडिको बाटो मैले छेकेर बस्ने बीचमा चेतमान बस्ने र अन्तिममा कमल उभिने निर्णय गरियो । उनमाथि झिंजाको जंगलमा आक्रमण गर्ने ठहर पनि गरियो ।

झमक्क साँझमा ढिँडो र गुन्द्रुक पकाएर खाने तयारी ग¥यौं । गुन्द्रुक र ढिँडो पकाएर खाइसकेपछि रातको निष्पट अँध्यारोमा हामी बडाचौरको तल्लो सेवार अमिलेखर्कस्थित हाम्रो घरबाट भोलिको सुन्तीसलाल कारवाही सम्पन्न गर्न प्रस्थान ग¥यौं । भालुमारे खोलामा पुगेर पानी पियौं । भालुमारेको पाखा पार गरेर चिल्लोपाखाको जंगल पस्यौं । त्यो पनि पार गरेर दाङजीत खोला गएर हामीले टुमलेटमा पानी भ¥यौ । रातले मध्यतिर प्रवेश गरिसकेको थियो । दाङजित खोला पारिको घनाजंगल पार गरेर हामी कमराकाटे पुग्यौं । त्यहाँदेखि पर गएर कमराकाटे खोला पार ग¥यौं । तल दहचौरको फाँटमुनिबाट लुंग्री खोला सुसाएको आवाज सुनिन थाल्यो । पारिपट्टि रिझाली वनमा कुकुरहरु भुकिरहेका थिए । जुनकिरीझै. गोठका आगोहरु निभेर हराउँदै थिए । हामी लम्चिती माथिको जंगलको मुखमा पुग्यौं । मध्यरातको संकेत गर्दै उल्लु करायो ‘कुटुटुटुटु’ । हामीदेखि पारिको जंगलमा ग्वाल्नी चरीको आवाज आयो “आलौ आ”। लोखर्के बासेको आवाज लगातार आइरह्यो ‘लोखराक ट्वाक.. लोखराक ट्वाक” । काठ खोप्ने चराको खोपेको आवाजझै आवज पनि आयो ‘ट्वाक टवाक .. टवाक ट्वाक’ । हामी खुला आकाशमुनिको खुला धर्तीमा मध्यरातको पदार्पणसँगै लम्चितीको फाँटमा पुग्यौं । केही घण्टाको लागि लम्चितीको खाली गोठमा हाम्रा चार करङ पल्टाउने निर्णय ग¥यौं । बाटो छलेर एउटा गोठमा गएर खर ओछ्याएर सुत्ने चेष्टा ग¥यौं ।
केही घण्टापछि म एक्कासी ब्यँुझिएँ । सबै साथीहरु चिसोले पिरोलिँदै असपट असपट छट्पटिदै अर्धतन्द्रामा थिए । मैले रातको अनुमान गर्न वरपर हेरे । कुनै सुइँको पाउन सकिन्छ कि भनी कान थापें । पारि रिझाली वनमा भाले बासेको सुनियो । चिसोले मेरो पेट ढाडिएको थियो । झोलामा मकै र भट्ट भुटेर राखेको खाजा थियो । मैले सबै साथीहरुलाई उठाएँ । हामीले त्यही गोठमा त्यो खाजा बाँड्यौं । अनि बिहान अँध्यारोमै पल्लोपट्टि गएर जंगलमा बस्ने ठेगान ग¥यौं ।

हामी सबै आ–आफ्ना सर्जाम बोकेर बाटो लाग्यौं । लम्चितीको डिलमा पुग्दा तल लुङ्री खोला अझ जोडले सुसायो । पारिपट्टिको पाखोका गोठहरुमा मानिसहरु खोकेको आवाज सुनिन थाल्यो । पुल पारिपट्टि बाटो छेउँको घरमा कचरे बुढाथोकीले घरको ढोका खोलेर आगो बाल्न थाले । हामी बिस्तारै लुङ्री खोलाको पुलमा पुग्यौं र पुल पार गरेर रिझाली वनमा प्रवेश ग¥यौं । लुङ्री खोलाको पानीको कलकल आवाजसँगै हामी खोलाको किनारैकिनार पश्चिम दक्षिणतिरको जंगलमा लाग्यौं ।

बाटो पार गरी हामी बाटोमाथिको एउटा ओडारमा बस्यौं । उज्यालो हुनै लाग्दा धनसिङलाई सुलीचौर पठायौं । समय बित्दै जान थाल्यो । तल लुङ्री खोला बगिरहेको थियो । त्यहाँको चिसो स्याँठले हाम्रो मुटु छेड्न थाल्यो । मिर्मिरेको चिसो बतास हाम्रो लागि कठोर भेदक सावित भयो । छर्लङ्ग उज्यालो हुँदै गयो । हामीमुनिको बाटोमा बटुवाहरुको आवाज गुञ्जन थाल्यो । बजार जानेको भीड अनि बजारबाट फर्किनेको भीडले बाटो एकदम व्यस्त हुन थाल्यो । वरपरको जंगलको वातावरण चरीहरुको चिरबिरले गुञ्जिन थाल्यो । तल खोलाको किनारमा कल्चौडी चरी अनि चिबे चरीको दोहोरी सुनिन थाल्यो ।

शनैः शनैः एउटा शास्वत सजीवहरुको बिहानीले धर्तीमा पदार्पण ग¥यो । पारिको भिरमा घोरलहरु दगुर्न थाले । हामीमुनिका बटुवाले खोलापारि भिरमा घाँसमा चरिरहेका घोरलहरुलाई तर्साउँदै चिच्याउँथे “पख पख तँलाई ।” घोरलहरुको केही ग्रुप भने तर्सिएर भाग्दै जंगलमा हराउँथे । तर कोही भने कान ठाडो पारेर बाटोका बटुवाहरुलाई हेर्दै फेरि घाँसमा चर्न थाल्थे ।

समय बित्दै गयो । हामीमाथिको डाँडामा पहेंलपुर घाम लाग्न थाल्यो । वरपरको जंगलमा घाँसदाउरा गर्ने युवायुवतीहरुको स्वरले गुञ्जायमान भयो । चिसोको कारण हामीलाइ पिसाब लाग्न थाल्यो । उठेर पिसाब फेर्न जाँदा बटुवा र घाँसीले देख्ने खतरा हुन्थ्यो । तैपनि अनुकूलता मिलाएर पिसाब फेरिन्थ्यो । मैले झोलाबाट ‘अजम्बरी गाउँ’ भन्ने भियतनामी क्रान्तिको एउटा उपन्यास निकालेर पढ्न थालें । त्यसपछि म उपन्यासको पानाहरुमा डुबेर वरपरको वातावरणमा भइरहेको हलचलबारे बेखबर हुन थालें । उपन्यासको क्रमसँगै मैले भियतनामी चुले पर्वतमालाको कमाण्डर ‘नुप’ हुने संकल्प गरे । उपन्यासको प्रभावले मलाई कताकता गोरिल्ला बन्ने प्रेरणाले उचाई प्राप्त गर्दै आएझैं महसुस हुन थाल्यो । जनताको दुःख, पीडाविरुद्धको संघर्षमा समर्पित हुने संकल्प अझ विकसित भयो । म नेपाली मुक्तियुद्धको नुप बन्ने प्रण गरें ।
एक एक साथीहरुले मलाई बोलाउनु भयो ।
‘धनसिङ आयो, ल झोला बोकौं ।’

मैले टाउको उठाएर तलतिर हेरेँ । बाटोमा धनसिङ दगुर्दै हामीतिर आउँदै थियो । उसले हाम्रो तलतिर आएर हातको इशाराले बाटोमा झर्न भन्यो । म झटपट झोलामा किताब राखेर बाटोमा ओर्लिएँ । सबै साथीहरु पनि बाटोमा आउन थाले ।

धनसिङले ‘छिटो कुद्नु पर्छ, नत्र ऊ नजिकै आइसकेकोले फुत्किन सक्ने’ कुरा सास फुलिएकोले हतारमा व्यक्त गरे ।

पारिको डाँडाबाट देखिने भएकोले डाँडा पर गएर योजना बनाउने सुरले हामी डाँडा वरी आयौं । खै किन हो कुन्नि ? मुटु ढुकढुक गरिरहेको थियो । मुख सुकेझैं भइरहेको थियो । कुनै नौलो उपाय नफुरेझै भइरहेको थियो । डाँडा पर गएर तेवाङ्गी र धनसिङलाई बाटोमाथिका झाडीमा उकालियो । म अगाडि गएँ । चेतमान बीचमा उभिए र कमल पछाडि उभिए ।

प्रतिक्षाको घडी लामो हुन्छ । सुन्तीसलाल पाँच मिनेटपछि आइपुग्यो तर हामीलाई पाँच वर्ष पर्खिएझैं भइरहेको थियो । उनीहरुलाई शंका लाग्दो नगराउन म कुनातिर पिसाब फेर्न लागे जस्तो गरे । कमल बाटोमुनि पिसाब फेर्न लागे जस्तो गरे भने चेतमान बीचमा थकाई मार्न बसे जस्तो गरे ।

उनीहरु सरासर हाम्रो सुम्मुखमा आइपुगे । मैले सुन्तीसलाल चिनेको थिएन । मेरो अगाडि आइपुगेको सुन्तीसलाल रहेछ । मैले त हट्टाकट्टा शरीर भएको पछाडिको मानिस सुन्तीसलाल होला भन्ठाने । कमलले आँखाको सनकले ‘हानौं ?’ भनेर सोधे मैले आँखा झिम्क्याएर ‘अँ’ भनें । कमलले रमेशको टाउकोमा एक लाठी बजारी दिए । मैले सुन्तीसलालको टाउकोमा । दुबै बाटोमा पछारिए । कमल दौडेर मतिर आए । चेतमान पनि मैले ढलाएको मानिसमाथि हमला गर्न बढे । म भने कमलले छोडेर आएको मानिसलाई लखेट्न थाले । चोट खाएर भागेको त्यो मानिस खुब जोडसँग दौड्दै थियो । ऊ तल्लो बारीमा हामफाल्यो । म पनि त्यहीँ हाम्फालें । हाम्फालेपछि म बिहानको शितमा जुत्ता लर्किएकाले लम्पसार भएर लडेँ । ऊ मभन्दा पहिले उठिसकेको थियो । म उठ्न लाग्दा उसले मलाई एक लात बजाएर खोलातिर हाम्फाल्यो ।

म रिसाएर कमल र चेतमानलाई भने ‘त्यसलाई किन पिट्यौ ? सुन्तीसलाल यहाँबाट हाम्फालेर भाग्यो त ?’

तब उनीहरुले भने “सुन्तीसलाल त्यो होइन यो हो । अब यसलाई त हामी दुई जनाले कारवाही पूरा गरिसकेका छौं ।”

फेरि पनि मेरो दिमागमा भ्mवाट्ट सम्झना भयो । हातखुट्टा भाँच्ने लक्ष्य थियो । मैले उनीहरुलाई भने ‘त्यसोभए जाउँ, उसको हात खुट्टा भाँचौ ।’

उनीहरुले मलाइ भने ‘चिन्ता गर्नै पर्दैन । हामीले लक्ष्यअनुसार हात र खुट्टा भाँचिसक्यौं । बरु अब जाऔं ।’ हामी जंगलको बाटो उकालो लाग्यौं । माथि राङ्कोट डाँडाको छेडामा पुगेर तलतिर फर्किएर हे¥यौं । सुन्तिसलाल बारीको बीचमै पल्टिरहेको थियो ।

(समाप्त)

(दशवर्षे जनयुद्धको गर्भमा के थियो ? किन मानिसहरु आफ्नो व्यक्तिगत जिन्दगी चटक्कै छोडेर मृत्युपत्रमा हस्ताक्षर गरी सहादतको लागि लाम लागे ? मान्छे किन मृत्युलाई अंगाल्न तयार भयो ? आफूलाई बलिभेदीमा होम्नु के ख्यालठट्टाको कुरा हो ? २०५२ फागुन १ गते जनयुद्धको औपचारिक शुरुवात गरिए पनि त्यो जनयुद्धको गर्भमा के थियो ? हो, त्यही गर्भको विषयलाई आफ्नो संस्मरणमार्फत केलाउने प्रयास गरेका छन्, तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमिसार श्यामकुमार बुढामगर “चिन्तन”ले । उनको “ती आँधीमय दिन” नामक पुस्तक प्रकाशित छ ।)

(स्रोत : Halkaranepal)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.