~मनोज बोगटी~
धुर्नु बराइक र ईश्वर
घामको छायाँ र स्वर्ग एउटै हो
पानीको अनुहार र सपना एउटै हो ।
हावाको हात र सरकारको भरोसा एउटै हो ।
आगोले तेरो भन्साघरमा पसेर के भन्छ ?
पानीले तेरो खेतमा गएर कुन गीत गाउँछ ?
हावाले तेरो बत्तीको गोजीमा के हालिदिन्छ ?
आवाजले तेरो अक्षरमा कसको कथा भन्छ ?
माटोले तेरो कपुरमा कसको नाम लेख्छ ?
एइ काली धुर्नु बराइक
बाढीले तँलाई दशैंमा ल्याइदिएको डिब्बामा
आँधीले तँलाई बिहेमा ल्याइदिएको बक्सामा
कसको नक्सा हुन्छ ?
तेरो कि मृत्युको ?
सांसदको गोजीमा के हुन्छ तेरो निम्ति ?
कन्डोम ?…..
एउटा सनातनजस्तो स्वर्ग झुण्डिएको छ
सपनाको पातमुनी ।
स्वर्ग डोहोर्याउने ईश्वर
तुर्लुङ्ग झुण्डिएको छ सुपारीको रुखमा।
यो सुपारीलाई फुटाएरै टोक्
धुलो बनाएर झोल खा
किन भने सुपारी ईश्वर होइन।
ईश्वरको खडेरीपरेको बसन्त मन्दिरमा बसेर
तँलाई नै जीवन माग्छ।
ईश्वरले तेरोे नाम काडेर उसको पेट भर्छ
र स्वर्गको सिनेमा देखाउँछ।
ए धुर्नु यो ईश्वरभन्ने मान्छेको भरोसा नगर्
कुनदिन तँलाई कुन भीरबाट झार्छ
र तेरो मुक्तिको भजन गाएर
कुनै एकदिन पेट भर्छ ।
(स्रोत : Nepalpati)