~भूपाल राई~
त्यागेर आफ्नो सनातन गद्दी
राज्य हाँक्न निस्किएको
कुनै मध्ययुगीन राजकुमारजस्तै
अचानक
निस्किएको छ यात्रामा
एउटा त्रिकोण झण्डा
थाहा छैन
कुन राज्य हाँक्नु छ झण्डालाई ?
अथवा टेक्नु छ
निरपेक्ष दुबोहरुको पहिचान !
र निस्किएको छ यसरी
निषेधको यात्रामा
घुमाउँदै चन्द्र–सूर्यको
सुदर्शन चक्र
अटलसिं इतिहासको गर्धनमा
किन फहराइरहेछ गोरखा दरबारको धङधङी ?
र काट्तै पहिचानको उर्ध्वगामी टाउको
किन उत्रिरहेछ धर्मयुद्धमा
राष्ट्रिय झण्डा ?
कहाँ पुग्ला यो ?
यसरी मान्छेको विरुद्ध
काटेर मान्छेकै पखेटा !
कहाँ पुग्ला ?
दस लाख दुबोहरुको गिँडमाथि
चलाएर बिसे नगर्चीकालीन तरवार !
र कहाँ पुग्ला ?
साढे सत्र लाख मैदानको छातीमा
उभिएर अखण्ड अञ्चल !
मध्ययुगीन राजकुमारजस्तै
जो मात्र एकतर्फी यात्राको लागि
गर्छ यात्रा
के त्यही हो राष्ट्रिय झण्डा ?
झोसेर वंशज–आगोको वृक्ष
जो हुर्किरहेछ
नानीहरुको खाली गिदीमा
खै कहाँ छ त्यो चन्द्रवंशको स्थुल जरा
नानीहरुको माटोमा ?
कहाँ छ सूर्यवंशको इतिहास
तिनीहरुको माटोको किताबमा ?
तैपनि किन उत्रिन्छ
फेरि तिनीहरुकै विरुद्ध
मात्तिएर एक मिटर रङ्गीन कपडा !
के त्यही हो राष्ट्रिय झण्डा ?
र अखण्डताको नाममा
पर … पर …
जो फहराउँछ
नानीहरुकै पहिचानविरुद्ध
के त्यही हो राष्ट्रिय झण्डा ?
ओ ! सुरक्षा निकाय
प्रशासन
अदालत
र अखण्ड सरदारहरु
ठीक उल्टो यात्रामा उन्मुख छ
यतिखेर राष्ट्रिय झण्डा
जो क्रमशः फर्किरहेको छ
पृथ्वी राजमार्ग हुँदै
गोरखा दरबारको अतीततिर
कृपया, रोक त्यहीँनिर झण्डालाई
र आसीन गराऊ
एक नयाँ गद्दिमाथि
नत्र छुट्टिने छन्
यति लामो अन्तरालपछि
मान्छे र झण्डा
र उठ्नेछन् केही प्रश्नहरु –
‘कि रोकेर त्यही विन्दुबाट
विभेदको उल्टो यात्रा
किन हुन सकेन राष्ट्रिय झण्डा जस्तो
राष्ट्रिय झण्डा ?
किन विचाराधीन छ
यतिखेर राष्ट्रिय झण्डा ?’
(स्रोत : Egkabita)