~नारायण रेग्मी~
अरुले ब्रेकफास्ट गर्नेबेला,
म दाल र भात पेटमा घुसारी
घाम रापीलो नबन्दै कार्यालय पुग्छु
भित्ते बिजुली बाकसमा ल्याप्चे लगाउँछु
किनकि !
म लोकतन्त्रको सरकारी जागिरे हुँ।
अरुले परमेश्वरको किर्तन गर्नेबेला,
म धुलोले सेताम्मे भएका काला जुत्ता कपडाले पुछ्दै
हाकिमको ढोका ढक्ढकाउँछु
भित्र पस्छु र नमस्कार गर्छु
हाकिमको गुणगान र किर्तन गाउँछु
किनकि !
म प्रजातन्त्रको सरकारी जागिरे हुँ।२।
अरुले बिबेक प्रयोग गरी निर्णय गर्दा,
म कालो चियाको चुस्कि लिंदै
दुई दशक अघिका कानुनी प्रकृया र बिधिहरू पल्टाउँदै
दफा, नियम र उपनियम खोज्दै टिप्पणीमा राय लेख्न थाल्छु
किनकि !
म लोकतान्त्रिक गणतन्त्रको सरकारी जागिरे हुँ।३।
अरुले तारे होटलमा कुखुराको साँप्राको प्रशंसा गर्दा,
म चमेना गृहको बासी चना र सारो चिउरालाई
थुकको सहाराले गलाउने र चपाउने प्रयास गर्छु
किनकि !
म लोकतान्त्रतिक गणतन्त्रको सरकारी जागिरे हुँ।४।
अरुले संगीत र रंगमन्चको रसपान गरिरहेको बेला,
म श्रीमतिको घर धन्दा नचलेको गन्थन
छोरा छोरीका अतृप्त ईच्छा र चाहना
अनि बा आमाका अधुरा सपनाका बाणीहरु सुनिरहन्छु
किनकि !
म प्रजातन्त्रको सरकारी जागिरे हुँ।५।
यो देशका नेता, व्यापारी र ठेकेदार
अनि एनजिओकर्मी र समाजसेवी भनाउँदाहरूले
गगनचुम्बी घर र आँखाले नदेखिने जग्गा खरीद गरी रहँदा,
म कोठा भाडा र बच्चाको शैक्षिक शुल्कका खातिर
कोटका खल्तिहरू छामि रहेको हुन्छु
किनकि !
म लोकतन्त्रको सरकारी जागिरे हुँ।६।
अरुले जीवन र जवानीको मस्ति गर्दा,
म किताबका पानाहरू कण्ठ गरेर बस्छु
एकान्तमा आँखा र ढाड दुखाईको कष्ट सहेर बस्छु
किनकि !
पारदर्शीता र जवाफदेहिताको सांग्लोले बेरिएको,
बाहिर हेर्दा साह्रो र सुन्दर बोक्रो तर भित्र खोक्रो
सरल र निमुखो जिन्दगी जिइरहेको
म, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारी जागिरे हुँ।७।
(स्रोत : Nepalpati)