~आचार्य प्रभा~
उस्ले बडो आनन्द र गर्वको साथ भन्दैथियो ।”मेरी छोरी एयरहोस्टेज हुँदा त मैले ब्ल्याक लेबल र रेड लेबल त कत्ती खाएँ,खाएँ । बिदेश जाँदै पिछे ल्याइेदिने । जे होस् व्हिस्की र ब्राण्डी त धित मरुन्जेल नेपालमा हुँदा नै खाएँ ।
यत्तिकैमा छोरीको फोन आयो । फोनमा छोरीले भन्दै थिइे । “बाबा भोली हजुरको डा.अपोइन्टमेण्ट रहेछ याद गर्नु होला है ?”
मैले सोधी हालें के’को अपोइण्ट्मेण्ट ? भनेर । “उस्ले जवाफ दियो मेरो मुटुको अप्रेसन गरेको नि ६ महिना अघी। ओपनहार्ट सर्जरी पो गरेको त !यी मुटुमा अझै मेशिन राखेको छ । अमेरिकामा भएर पो बाँचे त!नेपालमा भए यतिबेला ……../”
“ए…त्यसो भए त तँपाइेको त कृटीकल कन्डिसन पो रहेछ त!” उस्ले निरश मुहार बनाएर भन्यो । “होनी,मैले त धेरै जोगिएर हिँड्न पर्छ । मुटुमै रोग छ । त्यही भएर त आजकल पिउने कुरा बन्दाबन्दी छ ।बिचरी उही छोरीले सबै औषधी खर्चदेखी लिएर सबै मेरो हेर्छे । धन्न छोरी ज्ञानी छ । बाउ,आमाको खुब सेवा र बिचार गर्छे । ”
उस्को कुरा सुनेर मैले मनमनै सोंचें बिचरी उस्की छोरी । ऊबेला एयरहोस्टेज हुँदा आफ्ना बाबालाई मायाले आफुले पाएसम्म सहुलियत प्रयोग गरेर कोशेली स्वरूप ब्राण्डी,व्हिस्की,रेडलेबल,ब्ल्याक लेबल ल्याएर खान दिइे । बाउको स्वास्थ्यलाई ध्यानमा नराखी । अहिले त्यही कोशेली बिष बनेर बाउको मुटु,कलेजो नै झन्डै खत्तम भो । आखिरमा त्यस्तै भयो।
“छोरीको मन बाबुमाथी,कोशेलीको मन बाबुको मुटु सखाप पार्ने दाउमाथी भने झैं भयो,” तर…..दुवै बाबु,छोरीलाई अफ्सोच छैन कि त्यही कोशेली नै आज ज्यानको निम्ती खतरा बन्यो भनेर । बाबु अझै पनि छोरीको कोशेलीको गुण र कर्तब्यको प्रशंसा गर्न छाड्दैन र छोरीलाई पनि पस्चताप छैन कि मैले त्यस्तो बिष स्वरूप कोशेली ल्याइे नदिएको भए शायद बाबुको यो हालत हुने थिएन भनेर ।
जे होस् बाबु,छोरी दुवै अन्जान नै छन् यो बिषालु कोशेलीको अवगुणबाट। बाबुपनी छोरीसँग दंग छ अनि छोरीपनी बाबुप्रतिको कर्तब्यमा उस्तै
बफादार छे । त्यो त छोरीको माया मात्र थियो । कहाँ छोरीको चाहना थियो र बाबुलाई रोगी बनाउने …………..?
-आचार्य प्रभा
अमेरिका
(स्रोत : Nareedarpan)