~नवीन अभिलाषी~
सिमलटाँडीमा ओर्लिएँ ।
दिनभरिसँगै दौडिएको सूर्य रातो साँझको उपचार दिएर डुबिसकेको थियो ।
पहिलो पटक पुगेको त्यो सहरी ईलाका थियो ।
नयाँ चलचित्र हेरेको महसुस भैरहेको थियो मलाई ।
पुरानो एटलस साइकल लिएर ११÷१२ वर्षकी एउटी काली काली केटी पर्खिरहेकी थिई ।
मलाई थाहा भयो–उस्ले मलाई पर्खिरहेकी हो ।
पहिलो पटक फिस्स हाँसी ऊ । देख्ने बित्तीकै र हाँसेँ म ।
साइनो जोडियो । चिनेजस्तै लाग्यो अब ।
पुरानो फ्रक लगाएकी थिई ।
********
मलाई पुग्नुथियो–कुनै अपरिचित घर । जस्को मसँंग ठेगाना मात्र थियो ।
बाटो थिएन चिनेको ।
उस्ले साइकल डोहोर्याउँदै हिँडी । म साइकलको पछिपछि डोहोरिएँ ऊसँंगै ।
मलाई ठेस लाग्दै थियो । लरखराउँदै थियो शरिरको पाँग्रो–यी खुट्टाहरु ।
ग्राभेल थियो बाटो । पिच हुन नसकेको आफ्नै जीवन जस्तो थियो ।
रित्तीन नसकेको मिनिरल बोटल थियो मेरो हातमा ।
थियो एउटा डायरी र कपडाहरु कोचेको पुरानो झोला ।
बेलाबेला पुलुक्क पुलुक्क हेर्थी त्यो केटीले–लाज लाग्थ्यो मलाई ।
आधा घण्टा बाटो नापेपछि पसेँ एउटा घर ।
बन्न धेरै बाँकी, तर बनिसकेको घर ।
टिनले छाएको हो । तर, लेन्टर गर्न मिल्ने बनाइएको । एउटा कोठा सटर थियो ।
नाम थिएन । टेलर थियो त्यो ।
एउटा बुढो मान्छे सिउँदै थिए लुगा या आफ्नै दैनिकी ?
केही आइमाईहरु थिए । एक टकले मुखमा हेर्दै थिए मेरो ।
सबैलाई हात जोडेँ । जीवनमा यति धेरै लाज लागेको थियो त त्यही बेला थियो ।
********
सबै मेरै जिम्मा लगाएर त्यो उज्यालो भागिसकेको थियो ।
लाग्यो कुनै जेलमा पसे जस्तो । तर, खुला थियो कोठा ।
दुईवटा थिए पलङ ।
दक्षिणतर्फ थियो एउटा पुरानो स्टिलको लक्ष्मी दराज । जस्को एउटा खुट्टा ईटाले बनाइएको थियो । खुट्टा नभएको मान्छेले प्लाष्टिकको बनाए जस्तै ।
एलसिडि टिभि थियो २४ ईन्चको ।
तर, मैले देख्नुपर्ने मान्छे थिएन त्यहाँ । मैले चिन्नपर्ने मान्छे थिएन त्यहाँ ।
प्लाष्टिकको कुर्सिमा मलाई बसाएर आफु पलङमा बस्नुभयो– मैले चिन्न खोजेको मान्छेको बुबा ।
हुनुपर्ने भन्दा सानो र दुब्लो देखे होलान मलाई ।
यात्राका हँुदै थिए कुरा ।
एउटा मोटो, तर सुन्दर आकृति ढोकाको पर्दा पन्छाउँदै आइपुग्यो कोठामा । र जोड्यो हात–‘नमस्ते’
फोनमा दुई वर्षदेखि जिस्किरहने आवाज थियो त्यो । मलाई संसारको खुसी एकैचोटी आएको महसुस भयो ।
********
‘हामीले त के भनौं त नि’ आमा बोल्नुभयो–‘हजुरलाई उसैले बोलाएकी हो, उसैले के भन्चे, के गर्चे हामीलाई के थाहा त नि ?’
पलङमा बसेर मुसूमुसू हाँस्दै थिई आयुष्मा ।
खाना खाएर चल्दै थियो कुरा आयुष्मासँंगको मेरो सम्बन्धको बारेमा ।
‘एउटा कुरा त ढाँट्नु भयो नि बाबु ?’ बाबुको निक्कै अफ्ठेरो प्रश्न थियो त्यो ।
‘बाध्यता थियो नि बुबा’, मैले भनँे ।
‘साहै नजाति पो लाग्यो त हामीलाई’, आमाले थप्नुभयो ।
बढी नै कुरा गर्न मन थियो बुबालाई । तर, आमाले रोक्नुभयो ।
अफ्ठेरो लाग्यो मलाई ।
बुबाले भन्नुभयो, ‘बेलुकीतिर अलिकति खाने गर्छु बाहिर गएर खादिनँ ।’
आयुष्मा खितितिति… हाँसी । लजाई । मलाई फोनमा भनेकी थिई –‘हाम्रो घरमा रक्सी चल्दैन ।’ अहिले झुटो कुरा थाहा भएपछि ।
‘आज सुत्ने, भोलि कुरा गर्ने थाक्नु भाहोला’, आयुष्मा बोली ।
********
झुलभित्र पसेँ ।
बत्ती पनि निभ्यो ।
आयुष्माको भाउजूले पानी लिएर सिरानी नजिकै राखिदिनु भयो ।
मेरो आँखा भने बल्दै थिए ।
दिनभरीको यात्रा भन्दा पनि मनमस्तिष्कमा त्यही घरवरपरको असजिलोपन थियो, यसै नाचिरहेको थियो ।
मेरो नोकियाको फोनमा म्यासेज टोन बज्यो । ‘डर लाग्यो ? निन्द्रा लागेन ? राम्रोसँंग निदाउनुस्, भोलि कुरा गरौंला है ?’
कति खतरनाक आग्रह थियो आयुष्माको ।
आयुष्मा अर्को कोठामा सुतेकी हुँदी हो ।
सोचे भन्दा, सम्झे भन्दा निक्कै फरक थिई ऊ । हेर्दै भद्धा लाग्दो । मोटो शरिर । अनुहार ठीकै राम्रो । कपाल सुन्दर थियो । पातला ओठ । आँखा नजिकै कोठी–अझै सुन्दर बनाउने । तर, म भन्दा करिब ५ वर्ष जेठी थिई ऊ ।
********
ब्यूँझदा चल्दै थियो–कल मेसिन ।
उज्यालो कोठाभित्र पसिसकेको थियो । उठेँ ।
अर्को पृथ्वीमा पुगेजस्तै महसुस भइरहेको थियो मलाई ।
पछाडि थियो ट्यूबेल ।
मलाई निक्कै गारो लाग्थ्यो । पानी थाप्ने कि ट्यूबेल चलाउने ।
आयुष्मा आई र चलाई मैले पानी थापँे अनि मुख धोएँ ।
सम्झे जीवन यस्तै होस् ।
घरपछाडि धान रोपिएको रहेछ । त्यो बैशाखको महिना थियो । २७ गते ।
हुनेवाला ससुराली थियो त्यो घर । तर, भएन ।
फोटोहरुको एल्बम देखाई आयुष्माले ।
जहाँ ऊ बाँच्दै आएकी थिई । साँच्चै ऊ त सानामा झन् नराम्री पो रहेछ त ।
खाना खाएँ । थोरै । धेरै खान लाज लाग्यो । भन्थे–ससुराली गएर धेरै खानु हँुदैन, त्यही सम्झँे ।
टेलरमा ग्राहकहरुको भिड थियो । व्यस्त हुनुहुन्थ्यो बुबा ।
‘पहिले टाँडीमा थियो पसल अहिले आफ्नै घरमा सारेको बाबु ।’
‘आफ्नै घरमा भएको राम्रो नि बुबा’, मैले भनेँ ।
घर परिवारको संख्या देखि घरजग्गाको मूल्यसम्म सोधी भ्याउनु भयो–उहाँले मेरो ।
आज्ञाकारी छात्रजस्तै सबै जवाफ दिएँ मैले पनि ।
********
आयुष्माले दिउँसो सिमलटाँडीमा रहेको दिदीको घरमा लगी ।
साथमा उस्को साथी थिई–ऋतु ।
होची, गोरी, मंगालियन मुलकी । मगर्नी आँखा भएकी । थापा थरकी ।
एकछिन साइवर बस्यांै हामी ।
रेडियोबाट विष्णु दाइले सोध्नुभयो, ‘कस्ती छ केटी ? मन पर्यो ? मोज गर ।’
म हासँे मात्र । साइबरको पैसा उसैले तिरी ।
चर्को थियो गर्मी ।
के काम थियो कुन्नी–घामघामै टाँडी पुर्याई ।
कुरा हँुदै गए सामान्य । जे सोचेर गएको थिएँ चितवन ।
त्यसरी कुरा गर्ने मौका मिलेको थिएन । मिल्दैन भन्ने थाहा भइसकेको थियो अब ।
टाँडीमा चाट खाने कुरा गर्दै थिई आयुष्मा । मैले नकारे ।
खेतको ठूलो डाबर थियो ।
बीचबीचै हिडेका थियौ हामी । बाटोमा थुपै्र पटक सम्बन्धका कुरा गर्न खोजेकी थिई ।
मैले बंगाई दिन्थेँ । बीचबीचमा हेर्थी मलाई ।
उस्लाई चासो थियो–कतै नवीनलाई बोर फिलिङ त भएको छैन ? मेरो धेरै नै ख्याल गर्दै थिई ।
आयुष्माको दिदीको घर सानो थियो । टिनले छाएको ।
भिनाजु भारत । कमाउन । दिदी पनि मोटी र काली हुनुहुन्थ्यो ।
छोरा थियो–सानो । निक्कै मायालु थियो । ‘अंकल’ बोलाउँथ्यो र मलाई माया गथ्र्यो । अलि जिद्धि पनि थियो ।
दिनभरीको गर्मी भोग्दाभोग्दै बेलुकी भइसकेको थियो । तर, बसेर ऊ सँंग कुरा गर्ने अवसर मिलेको पनि थिएन ।
बेलुकी उस्ले नुहाई । कालो टि–सर्ट र उस्तै लेहंगा लगाई ।
चिसो कपाल छोडेकी दामी देखिई । च्याप्पै समातांै जस्ती ।
नजिक आई । क्लीनिक प्लसको गन्ध छर्दै थियो कपालले ।
साँझ पर्दै थियो । स्टुलमा बसी । र सोधी ‘कस्तो लाग्यो ।’
मैले भनेँ, ‘तिमी ?’
‘सबै ।’
‘अफ्ठेरो लाग्यो ।’
उस्ले मोवाइलमा आफ्नो फोटो देखाई । अनि लुकाउन पनि खोजेजस्तै गरी ।
ऊ मेरो निक्कै नजिक आइसकेकी थिई ।
उस्को कपालले मलाई जिस्काइरहेको थियो । छोइरहेको यियो ।
उस्ले मोवाइल दिइन । खोस्न खोजेँ । तर, दिइन ।
साँच्चिकै खोसेँ । पहिलो स्पर्श । खै उस्ले कस्तो अनुभव गरी ।
********
आदिवासी जनजातिहरुको आन्दोलन थियो ।
म चितवन पुगेदेखि बाटो बन्द थियो । फर्किने सम्भव थिएन ।
म चितवनतिरै लोफर टाइपले हल्लिने अवस्था बन्दै थियो ।
कम्प्युटर सिक्दै गर्दा याहुको आई. डी. बनाएर सिक्दै गर्दा ऊसंँग भेट भएको थियो ।
‘कल लभ’ थियो हाम्रो दुई वर्षदेखिको ।
विवाहको कुरा गर्न बोलाएको हो मलाई आयुष्माले । जीवनमा कहिल्यै नटेकेको जमिन थियो त्यो । त्यो रात त्यही बित्यो । तर, आयुष्माले कुनै कुराको टुंगो लगाएकी थिइन ।
उज्यालो भयो । दोस्रो रात बित्यो ।
म दिक्किएको पनि थिएँ । नचिनेको त्यो ठाउँमा बस्नु पर्दा ।
मलाई भित्रभित्र अनुभव भइरहेको थियो । अब उनीहरुले पनि मलाई घाँडो सम्झन थालेका छन् । अफ्ठेरो लागिरहेको थियो । तर, बाध्यता थियो । चक्काजामले गर्दा ।
रेडियोको विदा पनि सकिदै थियो ।
अर्को दिन विहान त्यो फुच्चेलाई लिएर सिमलटाडीको बजारतिर लागेँ ।
जो नजिकै थियो ।
नक्कली बन्दुक थियो–उस्ले किन्ने प्रस्ताव देखायो ।
मैले किनीदिएँ ६० रुपैयाँ थियो त्यसको मूल्य । त्यो लगानी थिएन । अर्को पटक फेरि पसल जाँदा उस्ले भकुन्डो प्रस्ताव गर्यो ।
किनिदिएँ–२५ रुपैयाँ थियो । त्यो पनि लगानी थिएन ।
********
‘तपाईलाई बस्न अफ्ठेरो लागेको छ, भने अनेत्रै गएर बस्न सक्नु हुन्छ बाबु’, आयुष्मा र उस्को दिदी र म थियौं । आयुष्माको दिदी बोल्नु भयो । ‘पत्रकार हुनुहुन्छ, कतै चिनेको पनि हुनुहुन्छ होला नि ?’
अब मलाई आश्चर्य लाग्यो ।
‘त्यो पनि ठीकै कुरा हो’, मैले भने र आयुष्मातिर हेरँे । ऊ घोप्टिएकी थिई ।
सायद त्यतिबेला निर्दोष थिइन ऊ । अटुट प्रेम हो हाम्रो–फोन प्रेम । जस्लाई मूर्तरुप दिनका लागि उस्ले मलाई बोलाएकी हो ।
ऊसँंग मेरो केही कुरा मिल्दैन थियो–ऊ दमाई थिई म सार्की– जात ।
ऊ जेठी थिई म कान्छो त्यो पनि निक्कै–उमेर ।
ऊ काली थिई म अलि गोरो–वर्ण, म भन्दा अलि गरीब नै थिई– औकात ।
केही मिल्दैन थियो ।
मैले सोचेको मन त मिल्छ नि ।
मेरो प्रेम थिई ऊ ।
जीवनमा पहिलो पटक कोरिएको आकृति । अदृष्य प्रेम थियो ऊसँंगको ।
‘तपाई सानो हुनुहुन्छ, भोलि के भर हुन सक्छ र ….., एउटा बच्चा भएपछि तपाईले अन्तै आँखा लगाउनु हुन्छ कि ?’ सम्भावनाका कुरा थिए दिदीका । चुपचाप थिई आयुष्मा । खटियाको डोरी कोट्याइरहेकी ।
उहाँ फेरि बोल्नुभयो, ‘यसो गर्नुस् । तपाई विदेश गएर आउनुस् । उमेर पनि अलि धेरै हुन्छ अनि कुरा चलाए भई गयो नि ।’
म यसै मौन भएँ । बडो अपमानित भएको महसुस भयो मलाई । मलाई उनीहरुले कसरी गरीव सम्झे भन्ने कुरा अचम्म लाग्यो ।
म भक्कानिदै थिएँ ।
मेरो जीवनको रेल छुट्दै थियो चढ्न खोज्दाखोज्दै । त्यहाँ निक्कै सरल कुरा भए–सम्बन्ध फेरि जोड्ने । जस्को कुरा आशा बाँकी थिएन मभित्र ।
रात्री सेवामा चल्दा रहेछन् बसहरु ।
म त्यहाँबाट जसरी हुन्छ निस्कने अठोट गरेँ ।
माथि थियो मेरो झोला दिदी जानु भयो ल्याइदिन । यो बीचमा बडो गम्भीर देखिई आयुष्मा । के सोचेकी हुँदी हो उस्ले ?
टवाइलेटमा गएँ–आँखामा छचल्किएका आँसुहरु एकै पटक बररररर खसाएँ ।
दिदीको छोरा मसँंग थियो ।
उस्ले मलाई एक तमासले बोलाइरहन्थ्यो ‘अंकल अंकल ….।’
आयुष्माले देखाएको सपनाहरुले मलाई कमजोर बनाएको रहेछ भन्ने अवगत थियो त्यो । आँसुहरु सस्तो बन्दै थियो आँंखामा ।
आयुष्माले सोधी–‘फर्किन भाडा छ ?’
बहुत पीडा भयो उस्को सोधाइले ।
सानो बच्चाजस्तो टाउको हल्लाएँ र ‘छ’ भनँे ।
********
त्यो घरदेखि बाटो सय मिटरको दुरीमा थियो ।
मलाई लाग्यो फर्किनु अगाडि उस्को बाबु आमालाई भेटांै र भनांै, ‘कहिलै नफर्किने गरी गएँ है ।’ तर, त्यहीँबाट फर्किएँ म । सानो बच्चाले हात हल्लाउँदै थियो । अझै भन्दै थियो ‘अंकल अंकल…..।’
बाटोसम्म आइपुगेकी थिई आयुष्मा । पछिपछि ।
मेरो आँखा आँसुले भरिएर खेतका आलीहरुमा ठोकिन्थेँ म ।
आयुष्मा रोएकी थिई ? थाहा छैन ।
एकै छिनमा बिरगञ्जको बस खै कसरी आयो त्यहाँ त्यो बन्दको समयमा ?
सायद् मलाई ल्याउन होला ।
चढेँ म ।
फर्केर हेर्न मन लागेन उस्लाई । मन अमिलो भएर आयो ।
बस यसै गुडी रह्यो ।
बसभित्रै एकपटक चिच्याएर रुन मन लाग्यो ।
त्यो रुनुको श्रृङ्खला रातैभरि चल्यो ।
बिहान ठीक छ बजे आफ्नै घरको पलङमा पल्टिएँ…।
बज्दाबज्दै अफ भएको मेरो मोवाइल चार्ज गरँे र अन गरेँ ।
१३९ मिसकल देखायो । जो आयुष्माको थियो ।
(स्रोत : Ganatantradaily)