~अनिल थापा~
हरेक बिहान आँखा मिच्दै गणित किताब पल्टाएर
मयूरको प्वाँख नाप्दै
वर्षौँसम्म बढ्ने अभिलाषा मनमा च्यापेर
जिन्दगीको गणितका धेरै अंक मेटिइसक्दा पनि
उभिरहेको थिएँ
तिमीले दिएको मयूरको प्वाँखसँगै
तिम्रो प्रेम कुरेर ।
बिजुली, पानी, गास, बास, पुर्याइदिन्छु भन्दै
यो राज्यले वर्षौँदेखि भ्रममा पारेजस्तै
जीवनको दीप बालिदिने तिम्रो प्रेम कल्पेर
असल घरबेटी पाउने कल्पनामा डुबेको काठमाडौंको डेरावालजस्तो
अथवा
पारिश्रमिक लिन ‘अतिरिक्त चाकडी’ गर्नु नपर्ने कल्पनामा डुबेको श्रमिक जस्तो
कुरिरहेको थिएँ – मन्द मन्द रमाउँदै काल्पनिक सहरमा ।
दिन, महिना, वर्ष बितेसँगै थपिएका
सपनाका चाङहरुले किच्दै गएपछि
गरीवको छातीजस्तो बलियो
विस्वास पनि टुट्छ,
अन्ततः
तिख्खर अनुभूति धमिलिँदै जान्छ
र बाँकी रहन्छ मात्र धमिलो सम्झना
दुरुस्तै
यो राज्य र नागरिकको सम्बन्ध जस्तो ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)