~ईन्द्र नारथुङ्गे~
जब मन्दिरबाट,
जीवन गाइरहेका चराहरुको लय पछ्याउँदै
क्रमबद्ध बज्न थाल्छ घण्टाको टङ् टङ्
र, म
चेतनालाई छोपेर ढुकढुकीले
रामनाम जपिरहन्छु ।
जब चर्चको आँखी झ्यालहरुबाट
फुत्त-फुत्त निस्किएर झन्कार संगीतको
फैलिएर हावाको तरङ्गमा
पातहरुलाई नचाउन थाल्छ
र, म
एक जोडा बन्द आँखा भित्र
क्राइस्ट चियाउँछु ।
जब मज्जिदहरुको भित्तोमा
छरेर उसै-उसै स्निग्ध हिमाल
प्रत्येक प्रहर अल्लाह चिच्याउँछ
र, म
गुमाएर आफ्नो आकार
मोहम्मद उभिरहन्छु ।
जब गुम्बाका मानेहरुमा
घुमी रहन्छ “ॐ मनि पद्मे हुँ” सँगै
जीवनका अनगिन्ती रङ्गहरु
र, म
टुक्रिएर अहंसँग
बुद्ध बाँचिरहन्छु ।
तर जब,
धर्मको शब्दजाल भित्र
बुनेर प्रत्येकले माकुरो सत्ता
एउटाले अर्कोलाई गलत देख्छ
एउटाले अर्कोलाई दुस्मन ठान्छ
र म,
नित्सेलाई पछ्याउँदै घोषणा गर्छु
यहाँ ईश्वर मरेर मान्छे भित्र…..
…मात्र सैतान बाँची रहेछ ।
– र्इन्द्र नारथुङे
इन्द्रणी पाेखरी, खाेटाङ
हाल – मलेसिया
(स्रोत : Dainikpost)