~देवेन्द्र पौडेल~
मोफसलबाट विभिन्न बान्कीका छन्दोबद्ध कविताको सँगालो पस्केर पहिलोपटक काव्य फाँटमा देखा परेका छन् सरोजप्रसाद नेपाल । राष्ट्रप्रतिको असीम माया, जीवनप्रतिको अथाह प्रेम, जीवन भोगाइका तीतामीठा पल, प्रकृतिप्रेम, मानवता र लोककल्याणकारी शान्ति समर्पित आत्मज्ञानलाई मुख्य रूपमा मनका तरंगहरूले प्रतिविम्बित गर्न खोजेका छन् । कविताभित्र नेपाली समाज र नेपाली प्रकृतिको चित्रण गर्न खोजिएको छ, द्वन्द्वले छियाछिया भएको देश छ, गणतन्त्रात्मक नेपालको परम र चरम लक्ष्य दिग्दर्शन गराउने सुन्दर संविधानको आकांक्षा छन् कविका हृदयमा ।
काव्यिक विषयवस्तुलाई आधार मानेर हेर्दा धेरैजसो रचना विचारप्रधान छन् र प्रस्तुतिमा कम भौतिकवादी र धेरै अध्यात्मवादी छन् । यस संग्रहका कवितामा नैतिक आदर्श र उपदेशका सन्दर्भ जोडेर युग जीवन र मानव समाजलाई सुसभ्य र उन्नत बनाउने प्रयास गरेको पाइन्छ । सत्यम् शिवम् सुन्दरम्, आमा, नयाँ संविधान, मेरो नेपाल, जीवन, बैरी भूकम्प र पुकार जस्ता कविता विशेष मननीय संवेदनाले युक्त देखिन्छन् ।
कवि नेपालका यस संग्रहका कतिपय कवितामा व्यंग्य र विद्रोहको रमरम छ र व्यंग्य र विद्रोहको माध्यमबाट घुमाउरो रूपमा उच्च राष्ट्रवादी भावना प्रस्तुत गरिएको पाइन्छ । उनी आफ्ना कवितामा द्वन्द्वकालीन र द्वन्द्वोत्तर मुलुकको सन्दर्भलाई चित्रण गर्दै मानवतावादी र भ्रातृत्व प्रेममा आधारित सुन्दर समाजको मीठो परिकल्पना गर्छन् । संस्कृतका वर्णमात्रिक, मात्रिक र गीतिलयको संरचनाभित्र समेटिएका कविता रस भाव र आलंकारिकताका दृष्टिले कमजोर देखिँदैनन् ।
मोफसलमा बसेर पनि नेपाली कविताका क्षेत्रमा हराउँदै गएको छन्दोबद्घ कविता लेखन तथा रस र अलंकारयुक्त कविता लेख्नु आफैँमा महत्त्वपूर्ण देखिन्छ । पुस्तकमा यथेष्ठ कमजोरी देखिन्छन् । कवितालाई चित्रमय बनाउन खोजिएकाले यसले कविताको सुन्दर पक्षलाई झन् धमिलो बनाएजस्तो देखिन्छ । शुभेच्छा र भूमिका खण्ड साह्रै लामो र अनावश्यक देखिन्छ । संस्कृतनिष्ठ शब्दहरूको अधिक प्रयोगले बुझाइमा जटिलता सिर्जना गरेको छ ।
पश्चिम नेपालको पाल्पा जिल्लाको सुन्दर पहाडी परिवेशको स्पर्शले होला, यस संग्रहभित्रका कवितामा पनि त्यहाँको जस्तै मनोरम दृश्य घुलमिल भएजस्तो देखिन्छ । गीत, गजल, बाल कविता र विविध विषयसँग सम्बन्धित ५८ थान कविता समेटेर तयार पारिएको पुस्तक मनका तरंगहरूले पाठकको मनमा खास तरंग प्रवाहित गर्ने सामथ्र्य भने राख्दैन ।
मनका तरंगहरू (कवितासंग्रह)
स्रष्टा : सरोजप्रसाद नेपाल
प्रकाशक : कमलादेवी नेपाल
पृष्ठ : ११६
मूल्य : २०० रुपियाँ
प्रकाशित: भाद्र १८, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )