~विजया ‘स्मृति’~
दृढविश्वास, कर्तव्यनिष्ठ- भई
शान्तिको मार्ग रोज्दै
कर्मभूमिमा खटिएका तिमी
अहोरात्र सेवामै सक्रिय थियौं।
वैशाख १२ को विपत्तिमा होस्
या कैलाली डुवानमा पर्दा
ज्यानको वाजी थापेर
रक्षक तिमी नै बनेका थियौं।
आन्दोलनको हिंसात्मक ताण्डव नृत्यमा देश डुबिरहँदा
थारूहट, लिम्बुवान, मगरात, बाहुन, क्षेत्री
सिमाङ्कन र नामाङ्कनका नाममा
रोपेका विउ आगो बनेर जलिरहे
सत्ताधारीहरुका अधिकार प्राप्तििलाई
स्वार्थसिद्ध साधन बनाउनेहरु
केबल आगोमा घिउ थपिरहे !
मानवताको खोल ओडेका ब्वासोहरुले
निलिरहे तिमीलाई !
हो !
तिमी जलिरहँदा
तप तप बनेर चुहेका
र उडेका रगत र धुवाँसँगै
सबै जातको फूलवारी खुँदिएको छ।
दिग्भ्रमित भई
भूकम्पको भन्दा पनि
जोड जोडले मेरो मन कम्पित भई रहेछ।
हे शक्तिका पूजारीहरु !
कतिन्जेल लासमाथिका लास टेकेर
रगतको होलि खेलिरहन्छौं
शक्तिको होडवाजीमा
कति अबोधको मुस्कान
फक्रिन अगावै निमोठीरहन्छौं?
विवेकहिनताको पराकाष्ठाह
कहिलेसम्म चलाइ रहन्छौ?
विपत्तिले पनि मेलमिलापको
पाठ नसिकाएको तिमीहरुलाई !
ज्वाला बनेर आँखा अगाडी
मुस्लो छुटिरहँदा पनि
तिम्रा कठोर मनहरु
किन मौन छन् ?
हिजै मात्र कसरी
अइरे, गैरेको मृत्यूमा
अधिकारको कृत्रिम स्वरहरु उर्लिइरहेथ्यौ ?
तिमी जलिरहँदा
तप्किएका आंसुहरु
खण्डित मनहरुलाई
भो चाहिएन
मानवताविहिन र विखण्डित पहुँच र पहिचानहरु
अब त तिम्रा
“गौतम” का खातीर
शान्तिको दिगो मलम लगाउँदै
बुद्ध र बुद्धको भूमिमा
नेपाली भएर बाँच्न पाए पुग्छ
नेपाली भएर बाँच्न पाए पुग्छ ।
(स्रोत : Nepalpati)