~दिपा राई पुन~
आफ्नै छात्तिको समुन्द्रमा
छालहरू उर्लिएर
ठोकिएको छ मनको किनारमा
चोटको मिठो तरड्ग
फैलिएको छ
एक पछि अर्को
यी सम्झनाहरू नै
समयका डोबहरू हुन्
आफ्नो अस्तित्वको एक झिल्का
आफ्नोत्वको अमिट अभिलेख
तिमी भन्थ्यौ
संसारको सुन्दर श्रृष्टी
मलाई मन पर्ने मान्छे
म खुशीले मुस्कुराउँथे
तिम्रो आँखामा कतै हराउँथे
हुन सक्छ
तिम्रै मुटुमा बिलाउँथे
समयले नेटो काट्यो
मैले मलाई भेटेको छुइन
के जादु थियो
त्यो तिम्रो बोलिमा
समयको बेगसँग
जसरी आयौ
त्यसरी गयौ तिमी
म भने अल्झिरहेको छु
तिम्रै आवाजहरूमा अड्केर
सुस्तरी बिहान उठाउँछौ
साँझमा निदरी गीत गाउँछौ
म तिमीलाई माया गर्छु भन्दै
आँखाको बर्सातबाट किन बग्दैन
तिम्रो मायाको एक बुंद पनि
जीवन एउटा गीत
तिम्रै मायाले सँगित भर्छ
जीवनले हरदिन उत्सव मनाउँछ
यादको धून हरपल गुन्जिरहन्छ
मेरो जीउने प्रेरणा
त्यो क्षण फेरि आओस नआओस
तिमी मेरो आत्मा अंश
मेरो जीवनको बाटोमा
पहिलो र अन्तिम पाइला।
(स्रोत : Janaboli )