” बाबू ! तिमी ठूलो भएपछि के बन्ने ? ” मायालु स्वरमा इश्वरले सानो बच्चालाई सोधे !
” अंकल ! म त डाक्टर बन्ने ! ”
” अनि तिमी नि ? ”
” म त इन्जिनियर बन्ने ! ”
” तिमी ? “
” म त फिल्मको हिरोइन बन्ने ! ”
” तिमी चाँही ? ”
” म त ब्यापारी बनी धेरै पैसा कमाएर चक्लेट खाने ! ”
” तिमी बाबू ? ”
” म त बूढों भएर हजुरबुवा बन्ने ! ”
” तिमी के बन्ने नि ? ”
” म मन्त्री भएर ठूलो घर बनाउने, पजेरोमा घुम्ने ! ”
इश्वरलाई बच्चाहरुसंग कुराकानी गर्दा खुब रमाइलो लाग्यो !
” बाबू ! तिमी के बन्ने ? ” उनले अर्को बच्चासंग सोधे !
” म इश्वर बन्ने ! ‘ उसले सहजै जवाफ दियो !
” हँ ! ” इश्वरलाई पैतालादेखि झनक्क रिस उठ्यो !
” मेरो कुर्सी ताक्ने तेरो यत्रो हिम्मत ? ” – बच्चालाई दुई चड्कन लगाएर इश्वर त्यहाँबाट टाप कसे !
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )