~रामनाथ खनाल~
आज फेरि यो छातीमा
पिस्कर चसक्क दुखेर आउँछ
पिस्कर त्यो भूमि जुन
इली र बीरबहादुर थामीहरुको रगतले
चुर्लुम्म भिजेथ्यो
महादेवस्थान किनारमा
माघेसंक्रान्तिको मध्यरात
निहत्था नागरिकमाथि
पञ्चायतले गरेथ्यो कत्लेआम
अकारणै भएथ्यो बन्दुक वर्षा
अनायसै जुन लुकेथ्यो बादलभित्रै
चराहरु गुँड छाडेर बाहिर
मानवता खोज्न निस्किएथे
सिन्धुका बुट्यानहरु
सुनकोसी, भोटेकोसी,
इन्द्रावतीका बगरहरु
डाँडा र भञ्ज्याङहरु
अनि गल्छेँडाहरु पनि
भएथे रक्ताम्य
देउमाईको किनार, भिमान
टिम्वुरबोट, कुल झोडा
रमाइलो झोडा र तामागढीका
सुकुम्बासी बस्तीहरु झैँ
सुखानीको जंगलमा बन्दुकले
छिद्र पारेका निमुखाको
आलो रगतको आहालमा
चुर्लुम्म डुवेथ्यो देश
दशौँ हजारको बलीवेदी
लाखौँ आमाहरु
भाउजु बुहारीहरुको
आँसुको भेल तर्दै
हराएको आमा, दिदीबहिनीहरुको
एक धर्को सिन्दुर
मेटिएको मातृत्व, लुटिएको भातृत्व
खोसिएको अभिभावकत्वको निशानी
अझै खोजिरहेछ देश
जहाँ फेरि दवाईंदैछन्
गोलीले निहत्थाको बोली
लाखौँको बलिदानी र कुर्वानीले कोरिएको
परिवर्तनको भुमध्य रेखामा उभिएर
फमार्न जारी गर्दैछ अझै शासक
सिंहदरवार, बालुवाटार
सानेपा, बल्खु, पेरिसडाँडा
बाल्कोट, लाजिम्पाटहरु अझै जागै छन्
खोस्न जनाधिकार
जनताको दुहाई दिएर नथाक्ने
नंग्राधारी शासकहरु हो
दवाईएका र दवाउँदै गरेका पिस्करभूमीहरुका
जनआकाङ्क्षाहरुको ज्वालामुखीहरु
एकैसाथ विस्फोट भयो भने
रहलान् तिम्रा धमिरा लागेका महलहरु
किनकी पिस्कर भूमीहरु अझै अनिँदो छ ।
गोकर्णेश्वर–१३, काठमाडौँ
(स्रोत : Nepalpati)