~वरुण पोख्रेल~
राम्रोसंग पाक्न नपाएको आटो(मकैको च्याँख्ला)अनि मोहि-दुध तरकारि त कहिलेकाहिँ मुस्किलले भेटिन्थ्यो।बिहानको नौ बजिसकेको हुन्थ्यो।
बिहानै उठेर धारामा पानी लिन जाउ पालो कुर~~
अनि गाउँले आइमाइका घरायसि कुरा सुन~~
ओल्लाघरे पल्लघरे तल्लघरे माथिल्लाघरे सबैका कमिकमजोरि हरु तथा उनिहरुका दैनिक ब्यबहार पस्किने उपर्युक्त थलो गाउँको धारो! जेनतेन पालो आउँथ्यो अनि गाग्रि भर्यो डोकोमा हाल्यो अनि डोकोको पिँधमा बाँसको सुपिलो घुसार्यो अनि अर्को धारो पछाडि लगाउँदै घर। दुई-चार खेप त्यसरि पानी बोक्दा बोक्दा घाम माथि आइसक्थ्यो। अनि चिया खाजा(अर्नि) केहि भए खायो नत्र हँसिया नाम्लो भिर्यो अनि लाग्यो बारिका काल्ना तिर। घाँस को एक् भारि आँगनको छेउँमा पछार्यो अनि दौडेर गयो चुलामा अनि थाप्यो थाल् तातो आटोको लागि! हिँजो चार बजे छुट्टि भएपछि बोकेर आएको झोला प्रायःखोलिएको हुन्थेन, जस्ताको तस्तै हुन्थ्यो।त्यसैले मिलाइरहन गार्हो हुन्थेन। खाना खाएर हात चुठ्दा सबा-साढे नौ बजिसकेको हुन्थ्यो।क्यान्भास जुता(हरियो)सस्तो बलियो भरपर्दो त्यहि नै थियो। त्यसैले प्राय सबैले त्येहि नै प्रयोग गर्थे। नत्र चप्पल् पड्काउँदै झर्यो ओरालि~~~~
खर्कः(जुन चौरपानीको राजधानि हो।जहाँ दैनिक चहलपहल हुने ठाउँ। राजनितिक, सामाजिक, आर्थिक, भौतिक केन्द्रबिन्दु।)को चौरमा केहि दफ्फा दोस्तिहरुको जमघट पछि सुरु हुन्छ चौरपानी देखि च्युरापानी तर्फको स्कुले यात्रा।तातो आटाको झोँकमा करिब एक घन्टाको यात्रा सुरु हुन्छ उल्फटाङ् बिद्यार्थीहरुको।थुप्रै केटा केटि हरुको झुन्ड झुन्ड लस्कर् लाग्छ बिजुलि तर्फ… रिषभ,केसव,गोपाल,नरेश,बिजय,नरेन्द्र,टोपे लगायतका दोस्ति हरु~~~।
यात्राको बिसौँ मिनेट जति सल्लेरिको उकालो सुरु हुन्छ। उकालोको सुरुमै को ठुलो सल्लालाइ हल्का पुजा गरेर सल्लेरिको उकालो स्याइँ-स्याइँ गर्दै पार लागेपछि छेँडो आइपुग्छ जुन कहिल्ले न-आएहुने!!! सधै गोरु मरेर फालेको खोल्सो दौडेर गन्ध पार गर्नु पर्ने। यात्रा सुरु गरेको चालिस मिनेट जतिमा आइपुग्छ सबै भन्दा महत्त्वपुर्ण जङ्सन-डाँडापोखरि। आहा कहिल्लै बिर्सन नसकिने ठाउँ।कहिल्ले पनि रेकर्ड छैन त्यो ठाउँमा नबसि स्कुल गएको। समयनै भएन भने पनि चौतरोको ढुङ्गामा टुसुक्क मात्र भएपनि बस्नै पर्ने। त्यहाँ नबसेको दिन त के बिर्सिएँ के पुगेन जस्तो हुने।स्कुलको घन्टि बजेको त्यहिँ बाट सुनेपछि त्यहाँ बाट फ़ेरि कन्टिन्यु हुन्थ्यो यात्रा।त्यहाँ पुग्दा सम्म थाम लगाएतका पनि अरु जमात मिसिन्थ्यो अनि अझ रमाइलो र ठुलो लस्कर् झुन्ड~~~~।
साढे दस बजिसकेको हुन्थ्यो च्युरापानीको स्कुलमा पाइला टेक्दा सम्म। प्रायः हाँजिर छुट्थ्यो। अनि रजिस्टर् कपि चोरेर गरिन्थ्यो हाँजिर आफै त कहिले समयमै पुगिन्थ्यो। समयमै पुगेपनि अर्को अपराध- हाँजिर पछि को प्राथना। कहिल्ले बसिएन प्राथना मा।हाँजिर गर्यो अनि लुक्दै टाप् नारायन थानको मन्दिरतिर हुर्रेर्रेर्रे~~~ पढाइ!!!हाहाहाहा…के पढाइ नि!सरकारि स्कुल सरकारि काम कहिले जाला घाम।बिद्यार्थी बाउ आमा लाइ पढ्दीन जाने।लगातार स्कुलमा बसेर चार बजाउनु नै ठुलो कुरो थियो।जुन हामिहरुले इमान्दार पुर्बक पुरा गर्थ्यौँ।
जब चार बज्छ अनि झोला टिप्यो खुरुरुरु~~~
भोक ले रन्थनिदै।बिहानको आटो जेनतेन सल्लेरिको उकालो काट्न सम्मलाइ पुग्थ्यो।त्यसपछि त पेटको इन्धन ट्याङ्की रिजर्बमा आइहाल्थ्यो।भोकले आँखा तिर्मिरौँदै घर। दुइ किलोमिटर टाढा मकै भुटेको बास्ना नाकलाइ धक्का मार्दै जाँदा खालि पेटले चार रेक्टरको भुइँचालो ल्याउँथ्यो। तरपनि बिकल्प नास्ति।दौडेर घर् आयो तर खाजा(अर्नि) त के!घरमा त चापि लगाएको पो हुन्थ्यो। भोक, थकाइ ले हत्तु भएको ज्यानमा रिस भन्ने अर्को देवता चड्थ्यो भाउन्ने हुने गरि। तर नो बिकल्प, नो उपाय।
आहा क्या स्कुले जिवन नि!!!!!!
7/30/09
वरुण पोख्रेल
चौरपानी, प्युठान, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार )