~रमेश सायन~
निदाउन सकिनँ !
जिन्दगीका स–साना गणितमा फसेँ !
किन घरधनीले दुई दिन अघि नै भाडा माग्यो
प्रेमिका किन बहाना बनाएर भेट्न आइन
किराना पसलेले किन उधारो पत्याएन
किन हिँड्यो माइक्रो बस रु. एक फिर्ता नगरी ?
कोल्टो फेरें !
आमालाइ एक्लै छाडेर किन हिँडेँ
ईश्वरलाइ किन टेरिनँ
धर्म किन मानिनँ
घर फर्केर किन जिन्दगी सम्हालिनँ ?
दिमाग उम्लियो
वाफ बनेन
अर्काे कोल्टो फर्किदै सम्झेँ
बिश्वविद्यालयको अन्तिम परिक्षा हापेर
किन हिमालतिर गुच्चा खेल्न हिँडेँ
मस्तिष्कमा हिलिएम ग्यास भरेर किन हावामा छाडिदिएँ
सात वर्षअघि खुब रक्सी पिएर
भरिया, मजदुरमाथी किन दादागिरी जमाएँ
त्यसै वर्षका ेअन्त्यतिर
किन तस्करबाट बन्दुक किनेँ ?
दिमागमा अरिङ्गालको गोलो लागेकै बखत
उट्पट्याङ् गोठालोले गुलेली हानेर भाग्यो
सहनै नसकेर
फेरि कोल्टो फेरें !
आँखामा देशको फुरौला उफ्रियो
चौध वर्षे किशोर
किन उमेर बढाएर नाकरिता र राहादानी बनाउँछ
मैले तस्करबाट किनेको बन्दुक
हावामा पड्काउँदै हिँड्दा
किन सरकारका पाँचै इन्द्रिय एकैपल्ट निदाउँछन्?
अर्काे कोल्टो फेरें
मेरो मस्तिष्क भुंग्रामा पर्याे !
किन अमेरिका मुसलमानको अनुहार मनपराउँदैन
किन मुसलमानहरु पैगम्बर मोहम्मदको कार्टुन चित्र चिन्दैनन्
सपनामा आफ्नै मृत्यु देखेर बौलाएको उत्तर कोरियाली राष्ट्रपति
देशमा किन अनौैठा कानुन लगाउँछ ?
हजार प्रश्न
हजार कोल्टो फेरें
हातैले पृथ्वी धकेलेर बिहान बनाएँ ।
बिहान, प्रश्नहरुले मेरो बिरुद्धमा नारा–जुलुस लगाए
मेरो आँखामा नाक
नाकमा आँखा
निधारमा जिभ्रो
जिभ्रोमा निधार टासेर
चोकमा छाडिदियो
अहिले मान्छेहरु
मेरो हातमा एक–दुइका सिक्का
र, स–सना टुक्रा पाउरोटी फालिरहेका छन् !
(स्रोत : Nepalpati)