~देवी नेपाल~
टोपी उच्च हिमालको छ शिरमा छाती पहाडी शिखा
मोती फल्छ तराइमा दिनदिनै म्ुस्कान छर्छन् गरा
योगीझैँ छ उपत्यका हृदयमा बोकेर सद्भावना
यो नेपाल विचित्र चित्रसरिको शोभा छ संसारमा ।
चौँरी हाँस्छ हिमालमा चरणको हेर्दै खुला केचना
गैँडा छर्छ अपार जीवनकला बाँच्ने नयाँ चेतना
काँडे भ्याकुर गण्डकीलहरमा बन्दा चिनारी नयाँ
नेपाली मनभित्र सुन्दर छटा बर्सन्छ जैल्यै यहाँ ।
रारा गीत बनेर सर्छ जहिल्यै ती कोइलीकण्ठमा
झर्ना प्रीत लिएर झर्छ मनका पाखा र मैदानमा
झुल्के घाम रङाउँदै छ हिमको स्यूँदो सधैँ प्रेमले
नेपाली मनभित्रको मखमली फुल्दै छ आनन्दले ।
मेची नाँच्छ नि धाननाच सजिलै गाऔँ मिली देउडा
हाँस्यो लौ मिथिला कलाभरि अहो ! आनन्दले बाजुरा
पर्सा घुम्न गएछ भद्र तिलिचो धोती र कुर्ता भिरी
डम्फू हात लिएर बख्खु तनमा भिर्दै छ बाँके पनि ।
सारा वेद, कुरान, बाइबलले द्यौसी र भैलो भने
नाता मानव हो नि भन्छ त्रिपिटक् भट्याउँदै गर्वले
शेर्पा दाइ झरे सुरम्य धनुषा ल्होसारको नाचमा
बाराले पनि गर्वले भनिदियो लौ ‘न्हूँ दया भिन्तुना’ ।
गौरामा व्रत बस्दछिन् असनकी नानीथकूँ प्रेमले
आयो है ! छठ सूर्य दर्शन गरौँ भन्छिन् नि पासाङले
चण्डी नाच हुने भयो सब जुटे त्यो बर्दिया चौरमा
कस्तो मेल ! अचम्म मान्छ दुनियाँ यो बुद्धको देशमा !!!
छन्दः शार्दूल विक्रीडित छन्द, म स ज स त त गु
१९ अक्षर -sss.।।s.।s।.।।s.ss।.ss।.s) १२.७ मा विराम
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)