~ज्याकब खालिंङ~
म बाँचेको मान्छेको बस्तीमा
आजकल मान्छेहरु नै संकटमा बाँची रहेकाछ्न्.
म बाँचेको समाजको सोचाईबाट
कसरी हो कुन्नि
मान्छे हुनुको बिचारहरु पलायन भई सकेका छन्.
छातीभित्र मुटु हुन्छ
त्यही मुटुभित्र भावना समाहित हुन्छ
तर त्यो भावनाभित्र मान्छे हुनुको संवेदना
सबै -सबै मासिएर गएको छ
अचेल यहाँ मान्छे बाँच्दैन
तर मान्छेभित्र एउटा खुंखार दानव बाँच्छ
अनि त यहाँ २६/११ जस्तो रक्तिम इतिहास लेखिन्छन्
अनि त यहाँ गोधरा काण्डले जन्म लिन्छ
ट्वीन टावरहरू एक निमेषमा भत्काइन्छन्
गिर्जा घरहरु, मन्दिर र मस्जिदहरु
बलुन जस्तो तोडिन्छन्.
एक समय यहाँ येशु जन्मेर लाजरसहरुले जीवन पाऊँथे
आजकल अफजल गुरुहरू जन्मेर लाजरसहरुप्रति बम फ्याँक्छ्न्
एक समय कृष्ण जन्मेर धर्मको रक्षा गर्थे
आजकल कसाबहरु जन्मेर धर्मको हत्या गर्छन्
एक समय राम जन्मेर रावणको वध गर्थे
आजकल प्रभाकरणहरु जन्मेर रावणराज बिस्तार गर्छन्
एक समय बुद्ध जन्मेर जीवनको ज्योती चिनाउँथे
आजकल हेडलीहरु जन्मेर संसारको ज्योति निभाउन खोज्छन्
एक समय मदर टेरेजा जन्मेर टुहुराहरुलाई सहारा दिन्थिइन्
आजकल नलिनीहरु जन्मेर सबैलाई टुहुरा बनाउँछन्
एक समय महात्मा गान्धी जन्मेर सबैलाई अहिंसा पढाउँथे
आजकल दाउद इब्राहिमहरु जन्मेर हिंसाको खेती गर्छन्
एक समय मोसा जन्मेर आफ्नो जातिलाई कनान देशतिर डोराउँथे
आजकल लादेनहरु जन्मेर आफ्नो जातिलाई नर्कतिर घर्साछ्न्
एक समय झांसीकी रानी लक्ष्मीबाई जन्मेर देशको रक्षा गर्थे
आजकल माधुरी गूप्ताहरु जन्मेर देशको सुरक्षाको सौदा गर्छन्
हो, यसरी नै म बाँचेको मान्छेको बस्तीमा
आजकल मान्छेभित्र राक्षस जिउन थालेकाछन्
टिस्टा-रंगीत र कन्चनजंगा बाँचेको यो सुन्दर संसारलाई
प्रशान्त महासागर र सगरमाथा हाँसेको यो सुरम्य संसारलाई
यी राक्षसहरुले एक निमेषमा भष्म गर्न चाहन्छन्
म बाँचेको मान्छेको बस्तीबाट
यसरी मान्छे हुनुको बिचारहरु हराएर गएकाछन् .
(२०/५/२०१० चुम्बुङ)
(स्रोत : NRNaksa)