~लिला रिजाल सुबेदी~
छोरीको बिहेको कुरा त पक्का भो अब बिहे पो कसरी गर्ने होला …कस्ता खालका कुटुम्ब हुन … पौडेल सर गहिरो चिन्तामा थिए | मिठाईको थाली टेबुलमा अघि सार्दै भने – ‘ केटाकेटीबाट मनपरापर भयो | अब हाम्रो काम बाँकी रहयो बिहे कहाँ कसरी गर्ने हो बसेर सल्लाह गरौँ ।’ नेपालजीले मिठाइ हातमा लिदै भने – ‘ हेर्नोस हामीलाइ दाइजो चाहिदैन हामी दाईजोको शख्त बिरोधी हौँ ।
सरकारले पनि यससंग सम्बन्धित् बिधेयक पनि ल्याएको छ रे सुन्दैछु बिहे साधारण तरिकाको हुनुपर्छ | तपाई हामी जस्ताले दाइजो प्रथाको बिरोध नगरे अरु कसले गर्ने ? दाइजोका कारण कैयौं महिलाहरुले अकालमै ज्यान गुमाउनु परिरहेको कुरा हामीबाट छिपेको छैन । हुन् पनि हामीलाई किन पो चाहियो र अर्काको सम्पतीले कतिदिन पो पुग्छ र ? हामीसंग घर छ , गाडी छ । केटो पढेलेखेको जागिरे छ हेन्डसम छ । अरु के चाहिएको छ र उसैपनि अनुप दाइजोको शख्त बिरोधी हो । कुरै सुन्न चाहदैन । हामीलाई त् खाली असल केटी चाहिएको छ | हाम्रो पनि रहरको बिहे हो फेरी फेरी गरिन्न क्यारे हाम्रो तर्फ बाट त् बुहारीलाई भनेर भने जती गहना तयारी गरीसकेका छौं |’ नेपालजीका कुरा सुनेर पौडेल सर ढुक्क भएर लामो सास फेरे।
खुसी भएको देखेर नेपालजीले भने –‘ हेर्नोस पौडेल सर आजकल छोरीको बिहे गर्न दश पन्ध्र लाख भनेको त मामुली कुरा हो । बाँकी चलीआएको चलन आफन्त नातागोता लाई कपडा अनि सम्मान स्वरूप नगद रुपैया ,राम्रो गेस्टहाउसमा खाने बस्ने ब्यबस्था त भनिरहनु पर्दैन । हामी दाइजो खोजिरहेको छैनौं आफन्तहरु धेरै छन् खान्दानी परिवार हो , ठुलो छ । सबै जन्ती जान खोज्छन , नल्याउदा पनि चारपाच सय त भैहाल्छन ।
जन्तीहरुलाई पछि टिका टिप्पणी गर्ने ठाउँ नदिउं येसो खाममा पैसा हालेर दिदा नि चल्छ ज्वाईलाई छोरीलाई दिन त आफ्नैलाई त् दिनु हो । अफिस जानआउन, आफ्नै छोरीज्योई लाई यसो सपिंग गर्न जान सजिलो हुन्छ । बाइक किन्नेबेलामा चाही खबर गर्नुहोला राम्रो कम्पनि मैले चिनेको छु मिलाएर दिन्छ । येसो फलानाको ससुरालीबाट आएको भन्न नि हुन्छ छोरीको इज्जतका लागि , दराज ,टिभी, फ्रीज गृहस्थी का लागि चाहिने समान…..ज्योईलाई सिक्री ब्रासलेट छोरीलाई गहना यी सब कुराहरु त जस्तै नहुनेले पनि दिने गर्छन ।
बरु एउटा कुरा गरौँ कि ..गाडीको भाडा चाहिं हजुरको तर्फबाट गर्नुपर्छ । अरु पछि दुल्हन फर्काउदा गर्ने चलन चाहिं पछि नै एक पटक श्रीमती आउछिन उनि संगै बसेर कुरा गर्दा हुन्छ । …..फेरी तपाईहरुकी त एक्लीछोरी हुन् क्यारे समाजको अगाडी इज्जत फ्याक्नु पनि त् भएन नि —-तपाइहरुलाई जे दिन मनलाग्छ आफ्नै छोरीलाई हो निस्फिक्री दिन सक्नुहुन्छ । हाम्रो परिवार दाइजो प्रथाको शख्त बिरोध गर्छ ।’
पौडेलसर नेपालजीका कुरा सुनेर गहिरो सोचमा डुबे ।
ईटहरी नेपाल
हाल: ईजरेल
(स्रोत : Nareedarpan)