~विम अनुज~
उराठ विराठ पहाडहरुमा
कू–प्रथाको भुमरीमा रुमल्लिरहेको छ—
सुन्दर सुदूर पश्चिम
सरापेझैँ नेपाललाई सतिले
सरापेकी छिन् देउकीले सुदूरलाई
मुक्त पार्न त्यो पाप सदासदा
तत्पर रहनू–प्रिय कवि मित्र
आरनमा खियाई आफ्नो कवितालाई
बलियो एउटा धातु बनाउनू
र, बनाउनू त्यसलाई
कू–प्रथा विरुद्दको हतियार
सुदूर पश्चिममा
जरा गाडी छाउपडीले
तुसाइरहेको छ हिंसाको विरुवा
फैलिरहेको छ हर याम—बनमारा झारझँै
अब, उखेल्नु छ एकएक गरी
फाल्नु छ जरैबाट
मिल्काउनु छ कोशौं टाढा
संस्कृति बसाएको छ छुवाछूतले
दिनहँु झ्याली पिटी पिटी मनाइने गरी
फैलिरहेको छ–अबोध मस्तिष्कभित्र
अब, सफाई गर्नु छ पुरातन सोंच
धुनु छ ज्ञानको साबुनले मिची मिची
धेरै लेख्यौ र लेख्यौँ
पूर्वका कविताहरु
राजनीति र रमझमका कविताहरु
रमिता र तामझामका कविताहरु
राजधानी र सिंहदरबारका कविताहरु
अब, लेख्नू र लेखौं—सुदूरका वेदनाहरु
नखाऊँ बरु एक छाक
नसुतौँ बरु एक निंद
पीडा अनि सन्त्रासका निर्दोष मुहारमा
खुशीका सप्तरंगी रंग भर्न
हरदम प्रयत्नशील रहौं न– प्रिय कवि मित्र ।
(स्रोत : Halkaranepal)