~रमा भट्टराई~
उसका शब्दहरुले अश्लीलताको पराकाष्ठा नाघ्दै थिए
ऊ लगातार बोलिरहेको थियो
म चुपचाप सुन्दै थिए
खप्दै थिए शब्दबाणहरु
मैले सहनुको बाँध, कसो कसो भत्किन लाग्दै थियो
थाम्दै थिए, रोक्दै थिए आफूलाई,
आखिर मैले मलाई रोक्नुनै थियो,
जो मलाई सिकाईएको थियो ।
छाडा गालीहरुसंगै कठोर मुक्काहरु पनि बज्रिन थाले म माथि
ढाड थापेर बसे
मुटु बाँधेर सहे
ऊ एकोहोरो पिटीरह्को थियो
म नि:शब्द सहिरहेकी थिए
आखिर सहनुनै थियो
मैले गर्नु नै त्यहि थियो ।
सानै देखि सुनेकी थिए
देखेकि थिए
आइमाईले धेरै कुरा त्याग्नु पर्छ,
आईमाईको आफ्नो मन हुदैन
सहनु नै उसको धर्म हो
लात सहनु पर्छ
बात सहनु पर्छ
घात सहनु पर्छ ।
लोग्नेमान्छे ईश्वर हो, उसलाई पुज्नु पर्छ,
हो त्यही मानसिकता बोकेर हुर्किएकी म,
उसलाई रिझाउने नाउँमा
उसका हरेक तिरस्कार अनि उपेक्षाहरु,
दुर्व्यबहार अनि दुर्वचनहरु निरन्तर सहिरहेकी थिए।
ऊ अझै हात,खुट्टा र मुख चलाईनै रहेको थियो
म मूर्तिवत थिए
जब उसका शब्दहरुले मेरो अस्मितामा चोट पुर्याउन थाले
मेरो चरित्र, ईमान्दारिता र निष्ठामा खोट देखाईन थाले
मेरा सुतेका संवेदनाहरु
कता कता चेतनाका स्वरले गुन्जिन थाले
मेरो मनको बाँध भत्किन खोज्यो
नसा सलवलाएँ, हात जुरमुराएँ
शरीरमा नयाँ शक्ति भरिएझै भयो
खै के प्रिय लाग्यो खुला आकास
सम्झे, उसका वारम्वारका तिरस्कार र प्रताडनाहरु
निसासिएको, दबिएको, हेपिएको नरक जीवन।
नगर्नु गरे मैलै
उसले बारबार मेरो हत्या गर्दा
उसले बारबार मेरा मनहरुमाथि बलात्कार गर्दा
खपेकि मैले
एक पटक
मात्र एक पटक
मुक्त हुन खोजे
सम्हाल्न खोज्दा खोज्दै आफूलाई, नहुनु भैसकेस
ऊ डङ्रङ्ग भूइमा पछारियो
मन स्निग्ध भयो उन्मुत्क्त भयो
खै के प्रिय लाग्यो खुला आकास ।
(२०५४ मसिर, ईनरुवा)
(स्रोत : Janaboli )